राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १ देखि स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । आगामी स्थानीय तहमा उम्मेदवार हुन इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिन सक्ने भएका छन् भने उम्मेदवार हुन इच्छुकको आवेदनको चरणलाई रास्वपाले उम्मेदवार छनोटको पहिलो विन्दु भनेको छ ।
रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटको विधि बनाउन महामन्त्री विपिनकुमार आचार्यलाई दिएको थियो । अघिल्लो समितिमा आचार्य सहमहामन्त्री रहँदा तयार गरिएको उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरिएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमान्दार र सक्षम उम्मेदवार छनोट गर्न भन्दै क्यान्डिडेट क्लबमा आवेदन खुला गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । स्थानीय तहमा रास्वपाको उम्मेदवार हुन इच्छुकले चार चरणको छनोट मापदण्ड पार गर्नु पर्छ । त्यसमध्ये ४० प्रतिशत मतभारसहित प्रारम्भिक निर्वाचन प्रणाली तय गरिएको छ ।









