सिंहदरबारभित्रै निर्माणाधीन संघीय संसद् भवनको निर्माण काम करिब सात वर्ष हुन लाग्दा पनि सकिएको छैन । पुतली बगैँचामा २०७९ साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम ६ पटक म्याद थप हुँदा अहिले अन्तिम चरणमा पुगेर सुस्त बनेको हो ।
भवन निर्माणका लागि सातौँपटक म्याद थप गर्न निर्माण व्यवसायीले सहरी विकास तथा भवन निर्माण विभागसमक्ष निवेदन पेस गरेको छ । ६ अर्ब ९२ करोड रुपैयाँ लगानीमा १ सय ५६ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन भइरहेको छ । हालसम्म करिब ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनपछि संसदीय गतिविधि यही भवनबाट सञ्चालन गर्ने योजनाअनुसार २०७६ मा निर्माण अघि बढेको थियो । २०८२ मा निर्वाचन भएर नयाँ सांसद् आइसक्दा पनि संसद् भवन बन्न सकेको छैन । २०७६ साल असोज १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् भवन निर्माणको शिलान्यास गरेका थिए ।











