भारतबाट नेपाल प्रवेश गर्न लागेका सोमालियाली नागरिक सीमा क्षेत्रबाट पक्राउ परेका छन् । रौतहटसँग सीमा जोडिएको नेपाल–भारत क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा एक जना सोमालियाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएको हो ।
एसएसबीको २०औँ बटालियन भंगहा टोलीले सोमबार साँझ भारतको बिहारस्थित मोतिहारी जिल्लाको बैधनाथपुर क्षेत्रबाट सोमालियाली नागरिक काफी अली उर्फ हासी अलीलाई नियन्त्रणमा लिएको छ ।
भारतको बैधनाथपुर गाउँ नेपालको रौतहटस्थित इशनाथ नगरपालिकासँग जोडिएको सीमावर्ती क्षेत्र हो । एसएसबी स्रोतका अनुसार अली भारतीय बजार घोडासहनबाट बस चढेर बैधनाथपुर गाउँ पुगेका थिए । सीमावर्ती क्षेत्रमा उनको गतिविधि अस्वाभाविक देखिएपछि भारतीय सुरक्षा टोलीले निगरानी बढाएको थियो । निगरानीकै क्रममा उनी नेपालतर्फ प्रवेश गर्ने तयारीमा रहेको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ ।











