२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सडकको प्रतीक्षामा मुगुमकार्मारोङ, अझै घोडा–खच्चरकै भर

सडकको प्रतीक्षामा मुगुमकार्मारोङ, अझै घोडा–खच्चरकै भर
सेयर गर्नुहोस्
०सेयर

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका बासिन्दा राष्ट्रिय सडक सञ्जालसँग जोडिने दिन अझै कुरिरहेका छन्। सडक निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि ९९ किलोमिटरमध्ये १८ किलोमिटर मात्र सडक बनेको छ।

गमगढीदेखि चीन सीमास्थित नाक्चेलाग्नासम्मको सडकको विस्तृत सर्वेक्षण २०६२/६३ सालमै भएको थियो। करिब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना २०६६ सालबाट निर्माण सुरु भए पनि हालसम्म राज्यकोषबाट २० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

सडक माग्री डाँडासम्म पुगे पनि वर्षायाममा विभिन्न ठाउँमा अवरुद्ध हुने गरेको छ। कठिन भूगोल र कमजोर सडकका कारण स्थानीयले दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री घोडा, खच्चर र मानिसको पिठ्युँमा ढुवानी गर्नुपर्ने बाध्यता छ।

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले सडक निर्माणलाई तीव्र बनाउन पटक–पटक पहल गरे पनि पर्याप्त बजेट नपाएको बताए। माग्री डाँडाको कडा चट्टान हटाउन नेपाली सेनासँग सहकार्य भइरहेको र आगामी एक महिनाभित्र काम अघि बढाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताए।

सडक समयमै पूरा भए चीन सीमासम्म यातायात पहुँच पुग्नुका साथै स्थानीयको वर्षौँदेखिको सडक चढ्ने सपना पूरा हुने अपेक्षा गरिएको छ।
यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।