धादिङको नीलकण्ठ नगरपालिका–१२, मालेबगरका करिब १५० जना घरजग्गाधनी लामो समयदेखि जग्गा रोक्का हुँदा समस्यामा परेका छन्।
रोक्काको वास्तविक कारण, निर्णय तथा आदेशबारे स्पष्ट जानकारी उपलब्ध गराउन माग गर्दै स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा उल्लेख भएअनुसार धादिङ जिल्लाको साविक सांकोसअन्तर्गत कित्ता नं. ९३६ भीमसेन श्रेष्ठको नाममा र कित्ता नं. ९३७ चिजकुमार श्रेष्ठको नाममा रहेको थियो।
ती मूल कित्ताहरूबाट विभिन्न समयमा कानुनी रूपमा किनबेच तथा नामसारी हुँदै हाल करिब १५० जना व्यक्तिको नाममा घरघडेरी कायम भएको स्थानीयहरूको भनाइ छ। तर ती जग्गाहरू विगत करिब ८ वर्षदेखि रोक्का रहँदा हालका जग्गाधनीहरू प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्।
जग्गाधनीहरूले आफूहरूले कानुनी प्रक्रियाबाट जग्गा खरिद गरी आफ्नो नाममा नामसारी गरिसकेको अवस्थामा समेत लामो समयदेखि रोक्का कायम रहेको बताएका छन्।
रोक्काका कारण जग्गा किनबेच तथा हस्तान्तरण गर्न, बैंकिङ कारोबार गर्न, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन तथा अन्य आवश्यक कानुनी कारोबार गर्न कठिनाइ भइरहेको उनीहरूको गुनासो छ।
स्थानीयहरूले कित्ता नं. ९३६ र ९३७ का मूल जग्गाधनी भीमसेन श्रेष्ठ र चिजकुमार श्रेष्ठको नाममा रहेका मूल कित्ताबाट विभिन्न समयमा कानुनी रूपमा किनबेच तथा नामसारी भएका हालका जग्गाधनीहरूको जग्गा किन रोक्का गरिएको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्।
ज्ञापनपत्रमा रोक्का गर्ने निकाय, रोक्का गरिएको मिति, रोक्काको कारण तथा रोक्का सम्बन्धी निर्णय, पत्र वा आदेशको प्रतिलिपि वा विवरण उपलब्ध गराउन प्रशासनसँग माग गरिएको छ। साथै, प्रचलित कानुनबमोजिम रोक्का फुकुवा गर्न मिल्ने अवस्था भए आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र रोक्का फुकुवा गरिदिन स्थानीयहरूले अनुरोध गरेका छन्।
रोक्का फुकुवाका लागि थप प्रमाण वा कागजात आवश्यक भए त्यसको स्पष्ट जानकारी उपलब्ध गराई सम्बन्धित जग्गाधनीलाई आवश्यक सहजीकरण गर्नसमेत माग गरिएको छ। करिब १५० जना जग्गाधनी लामो समयदेखि एउटै समस्याबाट प्रभावित भएको भन्दै स्थानीयहरूले समस्या समाधानका लागि प्रशासनबाट आवश्यक छानबिन तथा पहल हुनुपर्ने बताएका छन्।









