कार्तिक १९ गते ।
नुवाकोटमा रहेका बाह्र स्थानीयतहमध्ये पाँच स्थानीयतहमा बैंक तथा वित्तिय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ ।जिल्लामा कायम रहेका बाह्र मध्ये किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । नेपाल सरकारले सबै स्थानीयतहमा एउटा बाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नहुँदा आर्थिक तथा वित्तिय कारोबारका लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीयतहमा जानुपर्ने बाध्यता भएको छ । बैंकको काम लिएर जिल्लाका पाँच गाँउपालिकाका स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम विदुर धाउन बाध्य भएका छन् । चालु आर्थिक वर्षको बजेट वक्तव्य मार्फत नेपाल सरकारले सामाजिक सुरक्षा सेवा लगायतका अनुदान सहयोग रकम सहित स्थानीयतहका कार्यालयमा जाने सबै शिर्षकका रकम पठाए पनि बैंक नहुँदा भुक्तानी पाउन कठिनाई ब्यहोर्दै आएका छन् । जिल्लाको मुख्य बजार तथा सदरमुकाममा एक दर्जन भन्दा बढी बैंक भएपनि ग्रामीण क्षेत्रका बासिन्दालाई भने समस्या छ । जिल्लामा रहेको हाम्रो विकास बैंकले ग्रामीण क्षेत्रमा बैंक विस्तार अभियान अन्तरगत दुप्चेश्वर गाँउपालिकामा एक महिना अघि शाखा सञ्चालनमा ल्याएको छ । दुप्चेश्वरको समुन्द्रटार सहित मेघाङ गाउँपालिकाको देउरालीमा पनि शाखा सञ्चालनमा ल्याएको छ । स्थानीयतह स्थापना भएको नौ महिनामा अन्य स्थानीयतहमा भने बैंकको नयाँ शाखा थप भएका छैनन् । जिल्लामा रहेका नीजि क्षेत्रका अधिकांश बैंकले सस्तो ब्याजरमा निक्षेप संकलन गरी महङ्गो ब्याजदरमा कर्जा प्रवाह गरी सेवा प्रवाह भन्दा पनि नाफामुखी उन्मुख भएका छन् ।

Facebook Comments