
मंसिर २६, धादिङ ।
धादिङको सिद्धलेक गाउपालिकाको वडा नम्व्र १ मा एक महिला समुहले अर्को महिला समूहलाई बाख्रा उपहार प्रदान गरेको छ ।
स्थानीय बलदेवी स्वावलम्बी महिला समूहका २५ जनाले गाउका अन्य आमा समूहका २५ जनालाई २५ वटा बाख्रा उपहार प्रदान गरेको हो । १ वर्ष अघि प्रयास नेपाल धादिङ र हेफर इन्टरनेशनल नेपालले सिद्धलेक गाउपालिकाका महिलाहरुको आयस्तर माथि उकास्न बलदेवी स्वावलम्बी महिला समूहका २५ जना सदस्यलाई ३/३ वटाको दरले ७५ वटा बाख्रा वितरण गरेको थियो ।
यस्तै समूहलाई गरिबी निवारण गणेशहिमाल पशुपालन परियोजनाअन्तर्गत बाख्रापालन सम्बन्धी तालिम दिएर बाख्राको वृद्धि भएपछि अन्य समूहलाई उपहार दिनेगरि बाख्रा वितरण गरिएको थियो । तीनै समूहका महिलाहरुले अहिले १ वर्ष पछि वृद्धि भएको बाख्राबाट एउटा गरि २५ जना महिलाले अन्य २५ जना महिलालाई बुधबार एक कार्यक्रमको बिचमा बाख्रा उपहार प्रदान गरेको हो ।
बलदेवी स्वावलम्बी महिला समूहका अध्यक्ष भोविता सिलवालको अध्यक्षतामा भएको बाख्रा उपहार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक डम्मर बहादुर विक, गाउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको आतिथ्य रहेको थियो । कार्यक्रमका अतिथिहरुले महिलाहरुको लागि संघसंस्थाले गरेको सहयोगको लाग धन्यवाद दिदै महिलाहरुको विकासको लाग महिलाहरु स्वयम् सकृय भएकोमा प्रशंसा गरेका थिए । साथै महिलाहरुलाई काममा निरन्तरता दिन समेत सुझाव दिएका छन् ।