अर्जुन श्रेष्ठ, धादिङ
माघ ६ गते ।
डाँडाको बस्ति वर्षाैदेखि खानेपानीको समस्या । एक गाग्री पानी थाप्न कुवामा घण्टौ लाइन । मध्यरातमा आगो बाल्दै पालो कुर्नु पर्दाको त्यो पिडा । खानेपानी समस्याको भूमरीमा दुःखको गरांै भारीले थिचिएका श्यामैडाँडाबासी । तर अहिले गाउँमै खानेपानी आएपछि सन्तुष्टिको लामो सास फेरेका उनीहरुले आफ्नो जीवनशैली फेर्दै छन् । 
गजुरी गाउँपालिका ६ धादिङकी संगिता चेपाङ घर गाउँमै खानेपानीको सुविधा आएपछि दैनिकी सहज भएको बताउनुहुन्छ । एक गाग्री पानी लिन मध्यरातमा कुवामा आगो बालेर कुर्नु पथ्र्याे । उहाँ भन्नुहुन्छ– विगतमा भोगेका समस्या सम्झदा पनि जिउँ सिरिङ्ग हुन्छ । तितो अतित विर्सन सकिन्न । खानेपानी ल्याउन ठूलो संघर्ष तथा मेहनत गर्नु प¥यो ।
तर खानेपानीको सुविधा भएपछि गाउँको मुहार फेरिएको उनले बताए । उहाँ थप्नुहुन्छ– खानेपानी माग गर्न नपुगेको ठाउँ छैन । तर आवश्यक कागजात र पुरा गर्नु पर्ने प्रक्रियाका विषयमा फियान नेपालले शुरुवाती चरणदेखि हालसम्म गरेको सहयोगका कारण नै गाउँमा खानेपानी आयो । अव खानेपानी दिगो व्यवस्थापनमा हामी जुट्ने छौ उहाँले बताउनुभयो ।
रेशम चेपाङ गाउँमा धारा र धारामा पानी झरेको देख्दा अचम्म लागेको सुनाउनुहुन्छ । गाउँमा खानेपानी ल्याउन दौडधुप गरेको देख्दा पानी आउछ भनेर विश्वासै नलागेको उहाँको भनाइ छ । वर्षाैदेखिको खानेपानी समस्या समाधान भएपछि मेलापात, खेतवारीमा काम तथा घाँस दाउरा गर्न सजिलो भएको छ ।
उहाँ भन्नुहुन्छ– नजिक पानी नहुनु र भएको कुवामा पनि सानो अनि धेरै घरधुरिले खानुपर्ने बाध्यता भएका कारण १ जना त खानेपानी बोक्न नै खटिनु पर्ने समस्या थियो । तर अहिले खानेपानीको समस्या समाधान भएपछि रातारात पानी लिन कुवा धाउनु पर्दैन उहाँले बताउनुभयो ।
हिउँदको समयमा उजाड देखिने श्यामैडाँडा हिजो आज करेसाबारीले हरिया देखिएका छन् । सागपात तथा करेसाबारी नहुने एउटै परिवार भेटिदैनन् । कुपोषणले ग्रसित चेपाङ समुदाय अहिले सन्तुलित खानामा जोड दिन थालेका छन् । श्यामैडाडाकै राममायाँ चेपाङ दुःखले गाउँमा खानेपानी ल्याइएकाले थोपा थोपा संकलन गरी घर तथा खेतवारीमा प्रयोग गर्ने गरेको बताउनुहुन्छ । 
पहिले धेरै बालबालिकालाई कुपोषण भएको थियो । तर हिजो आज सबैको करेसाबारीमा हरिया सागपात छन् । खानेकुराको व्यवस्थापन तथा सन्तुलित खानामा जोड दिएका छौ । गाउँको परिवर्तन भएको देख्दा खुषी लागेको बताउनुहुन्छ ।
फियान नेपालले धादिङको विभिन्न ठाउँहरुमा खाद्य अधिकारको प्रत्याभूति र सुनिश्चितताको लागि पैरवी तथा वकालत गर्दै आइरहेको छ ।
फियान नेपाल धादिङको फिल्ड अधिकृत राजेन्द्र बस्नेत भन्नुहुन्छ– जसको सवाल उसको नेतृत्व स्थापित गर्न समुदायको क्षमता अभिवृद्धिमा सहजीकरण गर्ने क्रममा श्यामैडाँडामा खानेपानीको चरम अभाव देखिएपछि लविङ गरेका हौं ।
९ किलो मिटर टाढाको मुहानबाट पानी ल्याइ खानेपानी समस्याको समाधान भएको छ । उहाँ भन्नुहुन्छ– अहिले श्यामैडाँडाबासीले आफ्नो दैनिकी फेरेका छन् ।
उनीहरुका हरेक समस्या समाधान गर्न हातेमालो गर्दै आएका छौ । खानेपानीको क्षेत्रमा मात्र नभइ उनीहरुले भोग्दै गरेका खाद्यान्न अभाव, सरसफाइ तथा सन्तुलित आहारको व्यवस्थापन जस्ता सामाजिक रुपान्तरणमा सहयोग गर्दै आएका छौ । अहिले उनीहरु आफ्ना आवश्यकता पहिचान गरी आफै माग गर्न सक्ने बनिसकेको उनले बताए ।
श्यामैडाँडाका १ सय ५५ घर धुरिले खानेपानीको सुविधा पाएका छन् । संचार माध्यममा खानेपानीको समस्या रहेका जानकारी पाएपछि सहयोग जुटाएर खानेपानी ल्याइएको श्री सत्य साइ सेवा संगठन नेपालले जनाएको छ । आफ्नो स्वइच्छाले दिएको दान संकलन गरी श्यामैडाँडाबासीलाई खानेपानीको समस्या समाधान गरेको बताएका छन् । खानेपानी सँगै अन्य क्षेत्रमा पनि काम गरिरहेका छन् । आँखाको शिविर चलाएर २६ जनालाई निशुल्क अपरेशन, कुपोषण, रक्सी सेवन, बालबालिका स्कुल छाड्ने जस्ता क्षेत्रमा काम गरी रहेको संगठनले जनाएको छ ।