माघ ६ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि पार्टीको विधि र विद्यान अनुसार चल्नु पर्ने बताउनुभएको छ । साथै सभापति देउवाले सबै नेता कार्यकर्तामा अनुशासनको खाँचो रहेको पनि बताउनुभएको छ ।

तनहुँको दमौलीमा आज नेपाली काँग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले अनुशासन भन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिनुभयो । विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न सम्पुर्ण नेता कार्यकर्तालाइ आग्रह गर्दै सभापति देउवाले केही गुनासा भए पार्टी्भित्रै बसेर छलफल गर्न सकिने तर विधि र विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताउनुभयो ।
सबै एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर सबै वेथितिहरुको अन्त्य गरिने उल्लेख गर्दै उहाँले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न नेता कार्यकर्ताहरुलाइ निर्देशन दिनुभयो । यस अघि महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट रहेकोे जिकिर गर्दै सभापति देउवाले पार्टीलाई तलदेखि माथिसम्म समावेशी बनाएर लैजाने बताउनुभयो ।
साथै काङ्ग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले आन्तरिक एकता नहुनु नै काङ्ग्रेसको हारको मुख्य कारण हो भन्दै कम्युनिष्ट पार्टी मिलेर मात्रै नभई पार्टी्भित्रै एकता नहुँदा काङ्ग्रेस आज यो अवस्थामा पुगेको बताउनुभयो । तनहुँमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशन विधान अनुसार नभएकाले उहाँहरुलाई बोलाएर छलफल गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिनुभयो ।
कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, रामशरण महत, शङ्कर भण्डारी, प्रदीप पौडेल, जीवन परियार, पूर्वकेन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली लगायतको उपस्थिति रहेको थियो ।