वैशाख १० ।
नेकपाले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । राजधानीको प्रज्ञा भवनमा सोमबार ७० औं कम्युनिष्टि दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच दुई अध्यक्षले सम्वोधन गर्दै एकताको बाँकी काम पनि चाँडै सक्ने प्रतिबद्धता जनाएका छन् ।

एक वर्षभित्र पार्टीको महाधिवेशन सक्ने घोषणा अध्यक्ष प्रचण्डले गर्नुभयो । प्रचण्डले करिव आधा घण्टा लामो सम्बोधन सकेपछि दुवै अध्यक्षले संयुक्तरुपमा गरेको सम्बोधनको भिडियो देखाइएको थियो । कार्यक्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका फेहरिस्तसँगै नेपाली काँग्रेसको आलोचनादेखि सिके रावतलाई राष्ट्रिय राजनीतिमा ल्याएको प्रसङ्ग सुनाउनु भएको थियो ।

अब स्थानीय तहसम्म र बाकी एकता केही दिनमै टुङ्गिने दाबी गर्नुभयो । कार्यक्रम सकिए लगत्तै सार्वजनिक गरिएको जिल्ला अध्यक्ष र सचिवको विवरण अनुसार नेकपाका ७७ जिल्ला कमिटी मध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालीन एमालेले भने ४४ जिल्ला अध्यक्ष र ३३ जिल्ला सचिव पाएको छ । तर तत्कालिन माओवादीतर्फका ८ जना केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा भएका छन् ।

नेकपा धादिङको अध्यक्षमा भूमि त्रिपाठी चयन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको अध्यक्षमा भूमि त्रिपाठी चयन हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णय अनुसार नेकपा धादिङको अध्यक्षमा भुमि त्रिपाठि चयन हुनुभएको हो । ७० औं कम्युनिष्टि पार्टी स्थापना दिवसको अवसर पारी नेकपाले धादिङसहित ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।

तत्कालिन नेकपा एमाले अध्यक्ष रहेका त्रिपाठी धादिङ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । त्यसैगरी सचिवमा तत्कालिन माओवादीका जिल्ला अध्यक्ष शालिकराम जम्कट्टेल चयन हुनुभएको छ । उहाँ ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ ।

Facebook Comments