
वैशाख २३, धादिङ ।
गजुरी गाउँपालिका वडा स्तरीय आत्मनिर्भर समुहको सिकाई आदान प्रदान कार्यक्रम सोमबार गजुरी गाउँपालिका वडा नंं ६ जरे बगैंचामा सम्पन्न भएको छ ।
वडा नंं ६ मा गठन भई संचालनमा रहेका १७ वटा महिला समुहका पदाधिकारीको सहभागीतामा भेला सम्पन्न भएको हो । वडा स्तरीय महिला संञ्जालका अध्यक्ष भगवती अधिकारीको अध्यक्षता तथा वडा सदस्य संगिता चेपाङको प्रमुख आतिथ्यतामा भएको भेलामा उपस्थित आत्मनिर्भर समुहका सदस्यहरुले एक अर्का समुहमा भएका राम्रो काम तथा अभ्यासहरु आदान प्रदान गर्नु साथै व्यक्तिगत र सामुदायिक क्षमता विकास, आम्दानी बृद्धि ,बचत गर्ने बानिको विकास र सहकारी आबद्ध भई आम्दानी बढाउन ऋण लिन टाढा जानू पर्ने तथा महंगो व्याज तिर्नु पर्ने बाध्यता हटेको अनुभव सुनाएका थिए ।
समुहमा आवद्धभएपछि बालबालिकालाई हक अधिकारको बारेमा समेत सचेतना बृद्धि भई बालबालिकाको पढाइ प्रति चासो दिन सकिएको ईन्देणी आत्मनिर्भर समुहकी शान्ति चेपाङले बताउनु भयो । समुहमा बसे पछि सामुदायिक मेलमिलाप बढेको ,बाल बिवाह कम गर्न ,महिला हिंसा न्युनिकरण गर्न सकिएको ,सहकार्यको भावना अभिबृद्धि,सेवा प्रवाह गर्ने निकायहरुमा पहुँच वृद्धि भएको गठ्ठेडाँडा आत्म निर्भर समुहकी बिमला चेपाङले जानकारी दिनु भयो ।
कार्यक्रममा अतिथि संगिता चेपाङले समुहको कारणले आफु वडा सदस्य भई सेवा गर्न सफल भएको भन्दै सहयोगी संस्था प्रति आभार व्यक्त गर्नु भएको फिल्ड संयोजक शम्भु घिमिरेलेले जानकारी दिनु भयो । प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले महिलाहरुमा ज्ञान,सीप, तथा क्षमता अभिबृद्धि मार्फत शसक्तिकरण गर्दै सामाजिक पुँजी वृद्धि र दिगो र प्रभावकारी विकासमा सक्रियताको लागि महिला संजाल संस्थागत विकासका सहयोग गरिएको र महिलाहरुले समुदायको रुपान्तरणमा गर्नु भएको सकारात्मक कार्यले आफुलाई खुशी बनाएको र आगामी दिनमा पनि राम्रो कामलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रम गाउँपालिकासँगको समन्वयमा युएमएनको साझेदारीमा प्रयास नेपालले संचालन गरेको बाल केन्द्रीत सामुदायिक विकास कार्यक्रम अन्तरगत सम्पन्न भएको गजुरीपिडाबाट नबराज लामिछानेले जानकारी दिनु भयो ।