
कात्तिक २३, धादिङ ।
आशन्न मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्थानीय समुदायका सवालहरुलाई सम्बोधन गर्न आग्रह गरिएको छ । स्थानीय स्तरमा नागरिकले उठाएका सवाललाई चुनावी घोषणापत्रमै समेटेर कार्यान्वयनमा जान आग्रह गरिएको हो । धादिङको सदरमुकाम धादिङबेसीमा आज आयोजित एक कार्यक्रममा चार राजनीतिक दलका प्रतिनिधिहरुलाई नागरिकका सवालहरु लीपिवद्ध गरी बुझाइएको छ । अक्सफामको सहयोगमा फोकस नेपाल धादिङले सञ्चालन गरेको परियोजना अन्तरगतका क्षेत्रका नागरिकहरुले खानेपानी, सरसफाइ र स्वास्थ्य, प्रकोप जोखिम न्युनिकरण, भुकम्प पछिको पुनर्निर्माण, खाद्य सुरक्षा, उपयुक्त आवास, लैंगिक संरक्षण तथा समाजिक समावेशीकरण र जलवायु परिवर्तनका सवालहरु राजनीतिक दलसंग राखेका छन् । नाग।िकले उठाएका सवालमा पर्याप्त आवास अन्तगत स्वच्छ खानेपानी, खाना पकाउने इन्धन, बत्ती, उपयुक्त लुगा धुने ठाउँको व्यवथा, खाद्यान्न भण्डारन, फोहोर व्यवस्थापन, ढलको सुविधा, पुन निर्माणको लागि सरकारले उपलब्ध गराउने अनुदान ऋण सहयोग प्रक्रिया सरल बनाउने, राज्यका हरेक निकायमा विद्यामान ३३ प्रतिशत समावेशीकरणलाई वृद्धि गरी ५० प्रतिशत सम्म पु¥याउनुपर्ने, जलवायु परिवर्तनका कारण खाद्यान्न, प्रजाती, पर्यावरणीय प्रणाली तथा स्वाथ्यमा पर्ने सम्भावित खतराहरुबाट बँच्न प्रतिरोधात्मक क्षमता वृद्धि गराउने, परंपरागत कृषि प्रणालीमा सुधारात्मक कार्यक्रम ल्याउने, भुकम्पबाट घर भत्किएकाहरुकालागि नीति नियममा व्यवहारिक रुपले परिमार्जन गरी सुरक्षित घरबनाउन प्रोत्साहन गरिनुपर्ने, भुकम्पपिडतलाई कम्तिमा २ वर्ष कृषिजन्य सामग्रीमा अनुदानको व्यवस्था गर्ने लगाएतका रहेका छन् । नागरिकले उठाएका सवाललाई कार्यक्रममा सहभागि सबै राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय स्तरको घोषणापत्रमा उल्लेख गर्ने र आफुहरु निर्वाचित भएपछि कार्यान्वयनमा लैजाने प्रतिवद्धता जाहेर गर्नुभएको छ । यसरी प्रतिवद्धता जाहेर गर्नेमा नेकपा एमालेका कृष्णप्रसाद अर्याल, नेपाली कांग्रेसका नरेन्द्र भट्ट, नेकपा माओवादी केन्द्रका शंभु श्रेष्ठ र नयाँशक्ति पार्टीका नन्दप्रसाद काप्री हुनुहुन्छ
