जेठ १२ ।
सरकारले असार १५ गतेदेखि विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागु गर्ने घोषणा गरेको छ ।

सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नपाइने वैदेशिक रोजगार विभागले जनाएको हो । आगामी असार १५ बाट १२ प्रकारका काम गर्न विदेश जाने कामदारले सीप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने वैदेशिक रोजगार वोर्डका निर्देशक एवम प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाका प्रमुख ऋषीराम भुसालले सीआइएनसँग बताउनुभयो ।

म्यान पावर कम्पनीले भने सरकारले विना तयारी यस्तो घोषणा गरेको भन्दै तत्कालै यो व्यवस्था अनुसार कामदार पठाउन नसकिने जनाएको छ । सरकारले यो योजना स्थगित नगरे अन्दोलनमा उत्रिने संघका अध्यक्ष रोहन गुरुङले बताउनुभयो । वैदेशिक रोजगार विभागले असारबाट पहिलो चरणमा १२ क्षेत्रका कामदारलाई सीपको प्रमाणपत्र अनिवार्य गरेको हो । विभागले सीपमुलक तालिम लिनका लागि २९ वटा तालिम प्रदायक संस्थालाई सूचीकृत गरेको छ । थप संस्था सूचीकरण गर्ने गरी सूचना पनि निकालेको छ ।

Facebook Comments