
असार ९, धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित विशालनगर (आरुघाट) धादिङमा प्रभु बैंकले जिल्लाको छंैटौ शाखा विस्तार गरेको छ । सेवाग्राहीको माग र आवश्यकतालाई ध्यानमा राखी सरल र सहज तथा आधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । त्रिपुरा सुन्दरी गाउँपालिका छिमेकि धादिङ र गोरखा जिल्लाको विभिन्न गाउँपालिकाका सेवाग्राहिहरुका लागि यो शाखाले सेवा प्रदान गर्ने प्रभु बैक धादिङ शाखाका प्रमुख ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रभु बैंक लिमिटेड धादिङले यस अघि जिल्लाको ५ वटा स्थानहरु सदरमुकाम धादिङबेसि, धुनिवेसि नगरपालिकाको धार्के, गजुरी गाउँपालिकाको आदमघाट र गजुरी, बेनिघाट रोराङ गाउँपालिकाको वेनिघाटबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । आरुघाट शाखाको उद्घाटन आज एक कार्यक्रमको बीच उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवंम त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले गर्नुभएको थियो । यो शाखा सहित प्रभु बैंक लिमिटेडको धादिङमा ६ वटा शाखा विस्तार भएको छ । आगामी दिनमा सेवाग्राहीको माग र आवश्यकतालाई ध्यानमा राखी अन्य ग्रामिण क्षेत्रमा पनि शाखा विस्तार गरि सेवा प्रदान गर्ने योजना रहेको बैकले जनाएको छ ।
नेपाल राष्ट्र बैकबाट (क) वर्गको इजाजत प्राप्त प्रभु बैंक लिमिटेडले हालसम्म १ सय ८६ शाखा, १ सय १५० एटिएम तथा २३ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । यस बैकको कुल १० लाखभन्दा बढिको संख्यामा सेवाग्राहि रहेको छ ।
