
साउन १, धादिङ ।
आज देखि पवित्र साउन महिना शुरु भएको छ । देशभर साउनमा विभिन्न व्रत र धार्मिक क्रियाकलाप हुने गर्छन् । बोल बम पनि साउन महिनामै जाने गरिन्छ ।
साउने सोमबार पिपलमा जल चडाउँदा मनले चिताएको पुग्ने धार्मिक विश्वास छ ।
सौर्यमान अनुसार सुर्य दक्षिणायनतिर संक्रमण भइ ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देश नेपालमा मानु खाइ मुरी उब्जाउने कथन नै छ ।
असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानहरुले हिलोमैलो पखाली आफ्ना इष्टमित्रहरुका साथ रमाइलो गरी साउने सक्रान्तिमा भोज खाने चलन छ । आज कागती निवुवा, अम्बा, अनार, नासपाती लगायतका फलफूल चढाएर कण्डारक नामको राक्षसको पूजा गर्नाले छालाजन्य रोगबाट बच्न सकिने विश्वास छ ।
लुते फाल्ने दिन
कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायत औषधीजन्य बनस्पतीहरु बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो फाल्ने चलन पनि छ । यसलाई लुत्तो फाल्ने भनिन्छ ।
असारे हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइँदै आएको विश्वास छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घन्ट बजाउने,ढिकी कुट्ने र एकछिन ढोका बन्द गर्ने पनि चलन छ ।
साथै साउन महिनाभर हिन्दु नारीहरुले हातमा मेहन्दी र हरियो चुरा लगाउने चलन छ भने प्रत्येक सोमबार ब्रत पनि बस्ने गरिन्छ .