
साउन १७, धादिङ ।
जिल्ला अस्पताल धादिङमा आज एम्बुलेन्स चालकमाथी हातपात भएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ९ ज्यामीरे स्वास्थ्य चौकीको एम्बुलेन्स चालक सुरज गुरुङमाथी आज साँझ ५ बजेको समयमा हातपात भएको हो ।
हातपात गर्नेमा निलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी विष्णु श्रेष्ठ रहेका छन् । श्रेष्ठ धादिङवेशींमा रहेको सगरमाथा ईन्स्योरेन्स प्रा.लि धादिङ शाखा प्रवन्धकको रुपमा कार्यरत छन् । साथीहरुसँग गफ गरिरहेको वेला विना कारण श्रेष्ठले पछाडीबाट एक्कासी आएर किकले हानेको पिडित एम्बुलेन्स चालक गुरुङको भनाई छ ।
श्रेष्ठको कुटाईबाट चालक गुरुङको हात सुन्निएको छ । घाईतेको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । एम्बुलेन्स जस्तो संवेदनशिल सवारी साधन चलाएर २४ सैं घण्टा सामाजिक सेवामा हिड्नेमाथी भएको यस किसिमको घटनाले सम्पूर्ण एम्बुलेन्स चालक मर्माहित भएको संयुक्त एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष भेषराज ठकुरीले बताउनुभयो ।
पिडकलाई चाडो भन्दा चाडो कारवाहीको दायरामा ल्याउनुपर्ने र घाईतेलाई उचित क्षतीपूर्ती उपलब्ध गराउनु पर्ने ठकुरीले बताउनुभयो । दोषीलाई कारवाही र घाईतेलाई उचित क्षतीपूर्ति नपाईञ्जेल सम्म एम्बुलेन्स नचलाउने एम्बुलेन्स चालकहरुले बताएका छन् ।