कात्तिक २५, धादिङ ।
धादिङ जिल्लाकै रमणिय गुरुङ गाउँ निलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित काफलपानी गुरुङ गाउँमा ५ करोड बराबरको लागतमा गुम्बा निर्माण हुने भएको छ । आन्तरिक, जनश्रमदान र बाह्य श्रोतहरुबाट रकम संकलन गरेर गुम्बा निर्माण हुन लागेको आयोजना निर्माण समितिका कोषाध्यक्ष जगदीश गुरुङले जानकारी दिनुभयो । आज गुम्बा निर्माणको विषयमा काफलपानी गुरुङगाउँका विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधि, शिक्षक, वुद्धिजिवि, समाजसेवीहरुको सहभागीतामा भेला बसेको थियो । भेलाले वेदबहादुर गुरुङ अध्यक्ष र पछि बाँकी सदस्य थप गर्ने गरि ९ जना सदस्सीय गुम्बा निर्माण समिति गठन गरिएको छ । यसैगरि गुम्बा निर्माण समितिको उपाध्यक्षमा प्रेम गुरुङ, सचिवमा रेखबहादुर गुरुङ र कोषाध्यक्षमा जगदिश गुरुङ रहनु भएको छ । त्यसैगरि कूलबहादुर गुरुङ संयोजक रहने गरि ३ सदस्सय सल्लाहाकार समिति गठन गरिएको छ । समितिले गुम्बाको नाम क्ष्योलीङ रहने निर्णय पनि गरेको छ ।

१ सय भन्दा माथि घरधुरी रहेको गुरुङ गाउँमा पुजापाठको लागि गुम्बाको अभाव भएकोले गाउँका यूवाहरु मिलेर गुम्बा निर्माणको लागि अग्रसर भएको गुम्बा निर्माण समितिका अध्यक्ष वेदबहादुर गुरुङले बताउनुभयो । गाउँमा सार्वजनिक जग्गाको अभावले गर्दा जग्गा खरिदको कार्य छिट्टै गर्ने र गुम्बा निर्माणको काम सुरु गर्ने उहाँले बताउनुभयो । गुम्बा निर्माणको लागि केहि कागजी प्रक्रियाहरु पनि बाँकी रहेकाले विभिन्न व्यक्ती विशेष तथा सरकारी कार्यालयहरुसँग समन्वयको काम अघि बढिरहेको अध्यक्ष बेदबहादुर गुरुङको भनाई रहेको छ ।

विभिन्न श्रोतहरुबाट संकलन गरिएको रकमले मात्र गुम्बा निर्माणको लागि रकम अपुग हुने भएकाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, सहयोगी मन भएका व्यक्तीहरुलाई सहयोगको लागि अपिल पनि गरिएको छ । सहयोगको लागि बैङ्क खाता छिट्टै खोल्ने र बैङ्कमा जम्मा गर्न सकिने बताईएको छ । तत्कालै सहयोगको लागि कोषाध्यक्ष जगदिश गुरुङको मोवाईल नम्बर ९८६९२५१२४५, रेखबहादुर गुरुङको मोवाईल नम्बर ९८४३७९४१७८ मा प्रत्यक्ष सम्पर्क गरेर पनि सहयोग गर्न सकिने बताईएको छ । साथै ५० हजार भन्दा माथि सहयोग गर्ने संघ संस्था, व्यक्तीहरुको नाम शिलालेखमा लेखिने गुम्बा निर्माण समितिले निर्णय गरेको छ ।

गुरुङहरुको रितिरिवाज, भाषा संस्कृति जगेर्नाको लागि अहिले त्याँहाका यूवाहरु विगत ५ वर्षदेखि लागि पर्दै आएको छ । साथै ५ वर्ष भित्र होमस्टे संञ्चालनको लक्ष्य सहित काफलपानी तमू समाज नाम दिई सामाजीक संञ्जाल फेसबुक मार्फत प्रचार प्रसारको काम सुरुवात गरिसकेको छ । १५ पौष अर्थात ल्होछार पर्वलाई मुख्य चाडको रुपमा मान्ने त्याँहा १ सय १३ घरधुरी रहेको गाउँमा ६ सय १८ जनसंङ्ख्या रहेको छ । ९१ घरधुरी गुरुङको छ भने ५ सय ५ जना जनसंङ्ख्या रहेको छ । पर्यटकिय हिसाबले प्रचुर संभावना बोकेको काफलपानी गाउँबाट गणेश हिमाल, मनास्लु लगायत अति मनमोहक हिम श्रृङ्खलाका दृश्यहरु हेर्न सकिन्छ । साथै नेपालकै दोश्रो ठुलोटार सल्यान्टार पनि प्रष्ट रुपमा देख्न सकिन्छ । काफलपानी नजिकै रहेको जिल्लाकै प्रमुख धार्मिक स्थल ज्वालामुखी मन्दीरको कारण पनि यो गाउँ निक्कै प्रख्यात छ । हरेक पुर्णिमाको दिन विशेष पुजाआरधना र मेला लाग्ने यस मन्दीरमा धादिङ लगायत नुवाकोट, रसुवा, काठमाण्डौंका भक्तजनहरु आउने गर्दछन् । आफ्नो गाउँको प्रचार प्रसार र गुरुङ संस्कृतीको संरक्षण र सर्वद्धनको लागी स्थानिय युवाहरु जोडतोडका साथ लागि परेका छन् ।

(गुम्बा फाईल तस्विर)

Facebook Comments