
साउन २२, धादिङ ।
बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत बजार क्षेत्रमा रहेका हार्डवयेर पसलहरुको मंगलबार स्थलगत रुपमा अनुगमन गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा सञ्चालन गर्दै आइरहेको भुकम्पपछिको पुनर्निर्माण र पुनस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत हार्डवयर पसलहरुको अवलोकन गरिएकोहो ।
जिल्ला प्रसासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईको अगुवाईमा भएको सो अवलोकनमा बेनीघाट रोराङ गाउँपालका अन्तर्गतको मझिमटारदेखि मलेखुखोलासम्म सञ्चालनमा रहेका हार्डवयेर पसलहरुको अवलोकन गरिएको थियो । अवलोकनका क्रममा अधिकांश पसलहरुमा मुल्यसूचि नभेटिएको, भ्याट विल प्रयोग भएको नपाइएको, खरिद खाता र विक्री खाता चुस्त दुरुस्त नदेखिएको लगायतका यावत समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईले बताउनुभयो । केही पसलहरुमा भने मुल्यसूची रहेको पाइयो भने भ्याट विल काटिएको समेत भेटिएको थियो ।

अवलोकनका क्रममा कमजोरी देखिएका पसलका बिक्रेताहरुलाई पहिलोपटक सचेत गराइएको, मुल्यसूची राख्न तथा अन्य आवश्यक कागजात ठिक ढंगबाट राख्न सचेत गराइएको उहाले बताउनुभयो । अवलोकन कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिलवाल, घरेलु तथा साना उद्योग विकास समिति धादिङका प्रमुख किशोर सापकोटा, धादिङ उद्योग बाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य बेदबहादुर खाँण, बेनीघाट रोराङ गाउँपालिकाका लेखाअधिकृत लगायत सञ्चारकर्मीहरुको
सहभागिता रहेको थियो ।