कात्तिक १४, धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कार्यलय तोडफोड भएको छ । लगातार ४ दिन तिहार बिदाको समयमा वडा कार्यलय तोडफोड भएको हो ।
अज्ञात समुहले तोडफोड गरि वडा कार्यलयमा रहेको मेलमिलापको फाइल चोरेर लगेको वडा अध्यक्ष भोज बहादुर रेग्मीले बताउनुभयो । कम्पाउण्डको ढोका फुटाएर वडा कार्यलय भित्र पसि वडा अध्यक्षको चेम्वर तथा स्टोर कक्षको ताला फुटाइएको अध्यक्ष रेग्मीले बताउनुभयो ।
अध्यक्षको चेम्वरमा रहेको टेवल तथा दराजका सवै घर्राहरु फुटाइएको भएपनि अन्य सवै कागजपत्रहरु भने जस्ताको तस्तै रहेको छ । तिहार विदा पछि आज विहान कार्यलय खोल्न जाँदा कार्यलय सहयोगीले वडा कार्यलयको मुल ढोका र वडा अध्यक्षको कार्यकक्ष फुटाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । कार्यलय तोडफोड भएपछि विहीवार वडाबाट प्रदान हुने सवै सेवा बन्द रहेको अध्यक्ष रेग्मीले बताउनुभयो ।
घटनापछि स्थानीय मिस्त्रीको सहयोगमा मुल गेट मर्मत गरिएको भएपनि कार्यलयको ढोकाहरु तत्काल मर्मत गर्नको लागि नगरपालिकामा जानकारी गराइएको रेग्मीले बताउनुभयो । जिल्ला प्रहरी कार्यलय धादिङवेशीबाट गएको प्रहरीको टोलीले घटनास्थलको अनुसन्धान गरि औठा छापको नमुनाहरु संकलन गरेर ल्याएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।