
धादिङको सिद्धलेक गाउँपालिका–३ आमकोटकी २० वर्षिया अनिशा तामाङलाई मङ्सिर १० गते हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय पति अर्जुन थापामगर, अर्जुनका काका ३२ वर्षीय छबी थापा मगर र ४७ वर्षीय इन्द्र थापामगरलाई छन् ।
मङ्सिर ९ गते मकवानपुर जिल्लाबाट विवाह गरी घर आएकी अनितालाई रक्सी खाएर घरमा बसेको बेला घाँटी थिचेर हत्या गरेपछि शौचालयको सेफ्टी ट्याङ्कीमा हालेको अवस्थामा शव फेला परेको सिद्धलेक गाउँपालिका–३ का वडाध्यक्ष देबबहादुर पुलामीले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तीन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुपक खड्काले जानाकारी दिनुभयो ।
सेफ्टी ट्याङ्कीको ढकनी खोलेर ब्ल्याङ्केटले बेरेपछि अनिशाको शव लास फालिएको थियो । शौचालयमा दिसा पिसाव नगरे पनि आरोपितले दिनदिनै धेरै पानी हालेर राख्ने गरेको गाउँबासीले बताएका छन् ।
घरमा विवाह गरेर ल्याएकी पत्नी खोजी गर्दा सोही दिन माइतीतर्फ गएको भनेर आरोपितले ढाँट्दै आएको स्थानीयले बताएका छन् ।
घटनापछि शव गनाउन थालेको गाउँबासीले शङ्का गरिरहेको बेला प्रहरीको टोलीले प्रारम्भिक अनुसन्धान पछि सबैलाई गिरफ्तार गरेको हो ।
शव परीक्षणको लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।