तस्विर : अर्जुन श्रेष्ठ

राज्य व्यवस्था फेरिएपनि अवस्था नफेरिएको ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभएको छ । नेपालमा परिवर्तन तथा समृद्धि ल्याउने हो भने पहिलेका परम्परागत कानुन फेरबदल गर्नु पर्ने बताउनुभयो ।

धादिङ उद्योग वाणिज्य संघको २६ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो । देशमा मौलाएको भ्रष्टचार, घुष लिने दिने, सरकारी काममा भएको ढिला सुस्ति जस्ता कारणले आम नागरिकले दुःख पाईरहेको बताउनुभयो ।

राज्य व्यवस्था फेरिएपनि नेपाली जनता र नेपालको अवस्था नफेरिएको मन्त्री जम्कट्टेलको भनाई थियो । काम गर्ने शैली र फितलो कानूनका कारण सुखी नेपाली समृद्ध नेपाल निर्माणमा बाधा पुगेको उहाँले बताउनुभयो । यस्तै मन्त्री जम्कट्टेलले नीजि क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताउनुभयो ।

निजि क्षेत्रका माग तथा आवश्यकता पुरा गर्न नसकेको स्वीकार्दै उहाँले निजि क्षेत्रको विकासका लागि सरकारले सकरात्मक कदम चालिरहेको बताउनुभयो । उहाँले बुढीगण्डकी जलविद्युत आयोजना जसरी पनी बन्ने पनि बताउनु भएको छ । देशकै गौरवको आयोजना भएकाले आयोजना शीघ्र निर्माण हुनुपर्नेमा उहाँको जोड थियो ।

धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा प्रदेश नम्बर ३ का आन्तरीक मामिला तथा कानून मन्त्री शालीकराम जमकट्टेलको प्रमुख आतिथ्य रहेको थियो । यस्तै कार्यक्रमका विशेष अतिथि एवं प्रतिनिधि सभा सांसद डा.रामकुमार अधिकारीले एक गाउँ एक उत्पादन अभियानलाई निरन्तरता दिँदै विकसित देशका जनता सरह नेपाली जनतालाई पु¥याउने बताउनुभएको छ ।

देश विकासको लागि निजि क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याउनुहुँदै सांसद अधिकारीले भईरहेको लगानीलाई बढाउनुपर्ने धारणा राख्नुभएको थियो । देश विकासले फड्को मारेपछि धनी र गरिब विचको खाडल विस्तारै पुरिने पनि उहाँको भनाई थियो ।

साधारण सभाकै अवसरमा धादिङ उद्योग वाणिज्य संघले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन धादिङको पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने विषयमा पनि जानाकारी गराएको छ । साथै यहि फागुन २ गतेदेखि १३ गते सम्म सातौं धादिङ महोत्सवको आयोजना गर्ने भएको छ ।

जिल्लाको उत्पादनलाई प्रचार प्रसार एवं व्यवसाय प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सको आयोजना गर्न लागिएको धादिङ उद्योग वाणिज्य संघ धादिङका महासचिव लोकनाथ डल्लाकोटीले बताउनुभयो ।

संथागत विकास, व्यवस्थापनमा सुधार, आवद्ध व्यवसायीहरुको हकहितको सुरक्षा एवं व्यवसायिक क्षमता विकासका कामहरु धादिङ उद्योग बाणिज्य संघले गदै आइरहेको छ । वि.सं. २०४८ सालबाट सञ्चालनमा आएको संघले शनिबार आफ्नो २६ औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।

Facebook Comments