पौष ५, धादिङ ।
सर्भिस फर पिस नेपालले निलकण्ठ नगरपालिका र ज्वालामुखी गाउपालिकामा संचालन गरेका विभिन्न खानेपानी आयोजना समितिका पदाधिकारीहरुको लागि आयोजना खानेपानी दिगो व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ ।

खानेपानी आयोजनाको दिगोपना र गुणस्तर कायम राख्न सहयोग गर्ने उद्देश्यले कोइकाको आर्थिक सहयोगमा सर्भिस फर पिस नेपालले आयोजना गरेको २ दिने तालिममको आज एक कार्यक्रमको बिचमा समापन गरिएको हो ।

२ दिने तालिममा खानेपानी आयोजना निर्माण सम्पन्न पश्चात त्यसको दिगो व्यवस्थापनको लागि गर्न सकिने कार्यहरुको बारेमा जानकारी दिनुका साथै सहभागीहरुबिच छलफल गरिएको थियो ।

विशेष गरि खानेपानीको मुहानदेखि मुखसम्मको संरचनालाई कसरी सुरक्षित बनाउने, आयोजनाको गुणस्तर र दिगोपना कायम राख्न के गर्ने, संरचनालाई दिगो बनाउने क्रममा आइपर्ने जोखिम, त्यसको विश्लेषण र निराकरण लगायतको बारेमा समेत छलफल गरिएको थियो । तालिममा सहभागीहरुलाई इन्जिनियर धिरज भण्डारी र राजेश छत्कुलीले विषयवस्तुमाथि सहजिकरण गर्नुभएको थियो ।

तालिममा सहभागीहरुले आ–आफ्नो ठाउको खानेपानी आयोजना संचालनमा भएका राम्रा काम, अभ्यासहरुको बारेमा अनुभव आदानप्रदान समेत गरेका थिए । तालिम लिइसकेपछि सहभागीहरुले खानेपानी आयोजनाको दिगो व्यवस्थापनको लागि कार्ययोजना नै बनाएर लागु गर्ने प्रतिवद्धता जनाएको सर्भिस फर पिस धादिङका कार्यक्रम संयोजक उपशेकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments