
फागुन १४, धादिङ ।
जिल्ला प्रहरी कार्यलय धादिङले बुधबार सदरमुकाम धादिङवेशींका होटलहरुबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । सदरमुकाम धादिङवेशींको पुछारबजारदेखी सिरान बजार सम्मका होटलहरुमा छापा मारी घरेलु मदिरा नियन्त्रणमा लिएको हो ।
प्रहरीले मदिरा र मदिरा बनाउने भाँडा समेत बरामद गरेको छ । घरेलु मदिरा सेवनबाट हुने घटनाहरु न्यूनिकरणका लागि घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने भाँडाहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । बुधबार बरामद गरिएको मदिरा नष्ट गरिने उहाँले बताउनुभयो ।
होटल व्यवसायीहरुलाई घरेलु मदिरा विक्रि वितरण बन्द गर्न अनुरोध गर्दै मदिरा सेवनबाट हुने वेफाईदाका विषयमा जानकारी गराईएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो । मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यलय धादिङ जनाएको छ ।
यस्तै नेत्रावती डबजोङ गाउँपालिकामा प्रहरीले अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ । सेम्जोङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले होटल तथा गाडीहरुमा चेकजाँच गरि ९० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।