फागुन १४, धादिङ ।
समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउने वागमती प्रदेशका सांसद जगत बहादुर सिंखडाले बताउनुभएको छ । उत्तरी धादिङको खनियावास गाउँपालिकामा निर्माण भईरहेको डुण्डुरे पुलको अनुगमन गर्दै सांसद सिंखडाले यस्तो बताउनुभएको हो ।
अबको ३ महिना भित्र पुल निर्माणको काम सम्पन्न गर्न पनि सांसद सिंखडाले ठेकेदार कम्पन्नीलाई निर्देशन दिनुभएको छ । रुवीभ्याली गाउँपालिकाभर सडक सञ्जाल पु¥र्याएर यसै वर्षभित्र सवारी संञ्चालनमा आउने बताउनुभयो । २५ वर्षदेखि विकासको मुहार देख्न नपाएका उत्तरी धादिङले अबको ५ वर्ष भित्र विकासले काँचुली फेर्ने उहाँको भनाई थियो ।
यस्तै सांसद सिंखडाले रुविभ्यालीभ्यालीको बोराङदेखि तिप्लिङ जोड्ने निर्माणाधिन सडक र वडा नम्बर ४ मा रहेको डुवाङ आधारभुत विद्यालयमा टुकि नेपालले निर्माण गरेको ४ कोठे पक्की भवन लगायत अन्य विकास निर्माणका कामहरुको अनुगमन गर्नुभएको थियो ।
अनुगमनकै क्रममा सांसद सिंखडाले किन्ताङफेदी पुल र लिस्ने खोला पुलको लागि टेण्डर आह्वान गरि यसै आर्थिक वर्षदेखि निर्माणको काम सुरु गरिने प्रतिवद्धता पनि जनाउनुभएको सहकर्मी प्रेम तामाङले जानकारी दिनुभयो । फागुन ११ गतेदेखि १३ गते सम्म गरिएको अनुगमनमा नेकपा गाउँकमिटिको अनुगमन तथा पार्टी प्रशिक्षण कार्यक्रम गर्न पहल गर्ने प्रतिवद्धता सांसद सिंखडाले गर्नुभएको तामाङले बताउनुभयो ।