कात्तिक ३०, धादिङ ।
धादिङको निलकण्ठ नगरपालिका वडा नं १२ स्थित पशुपति मन्दिरमा आज बेलुकी मेला लाग्दैछ । मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालि रातभर भजन किर्तन गरी मेला लाग्ने छ ।

दिवंगत पितृका नाममा महादीप बाल्न नीलकण्ठ नगरपालीका विभिन्न ठाउँबाट भक्तजनहरु आउने गरेको पशुपति मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बद्री प्रसाद लम्सालले बताउनु भयो । भक्तजनहरु आज बेलुका भजन कृर्तन र लोक झाँकी प्रस्तुत गरि रात विताउने गर्दछन् । त्यस्तै पितृको नाममा भाकल गर्नेहरुले आज बेलुकी मन्दिरमा आएर होमहोदी समेत गर्ने गरेको उहाँको भनाई छ ।

कतिपय भक्तजनहरुले आज बेलुकी १२÷१ बजे फुकाडोलीहरु पनि ल्याउने गरेको उहाँले बताउनु भयो । त्यसैगरी भोली चतुर्दशीका दिन विहान खोलामा नुहाएर चोखो भई भक्तजनहरुले शतवीज छरेर बाला चतुदर्शी पर्व मनाउने गर्दछन् ।

भक्तजनहरुले दिवंगत आत्माको नाममा शतबीज अर्थात सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्ने गर्दछन् । भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

दिवंगत आत्माको नाममा शतबीज छर्नका लागि भक्तजनहरुलाई काठमाडौँको पशुपति मन्दिर सम्म जान टाढा र गाह्रो हुने भन्दै प्रधानपञ्चहरुले निवेदन दिएर २०२३ सालमा धादिङमा पशुपति मन्दिरको स्थापना गरेको लम्साले बताउनु भयो ।

Facebook Comments