हिन्दु नेपालीहरुको दशंै पछिको दोश्रो महानचाड तिहार सुरु भएको छ । रमाईलो र झिलिमिलीको चाड तिहार सुरु भएसँगै धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ जुँडीपाखाका ७३ वर्षिय फूल बाजे अर्थात लालबहादुर तामाङलाई यतिखेर फूल टिप्न चटारो छ ।
विगत १५ वर्षदेखी फूल खेती गर्दै आउनुभएका तामाङ गाउँमा फूल बाजेको नाममा परिचित हुनुहुन्छ ।

१० रोपनी क्षेत्रफल जग्गामा फुल खेती गर्दै आउनुभएका उहाँले प्रत्येक तिहारमा एक लाख भन्दा धेरै आम्दानी गर्दै आउनुभएको छ । कोदो मकै खेती भन्दा फुलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि फुलखेतीलाई निरन्तरता दिँदै आएको उहाँ बताउनुहुन्छ ।
तिहारलाई लक्षित गरेर विगत १५ वर्षदेखी मखमली, सयपत्री फूलखेती गर्दै आउनुभएका तामाङलाई यो वर्ष फूलले राम्रो बजार नपाउने होकी भन्ने कुराले सताएको छ । कोरोना महामारीका कारण भनेको जस्तो व्यापार नहुनेपो होकी भन्ने लाग्छ, तामाङले भन्नुभयो ।

यो वर्ष मनसुनले साथ दिँदा फुल राम्रो सँग फूले पनि कोरोनाको कहरले बजार पाईने होकी नपाईने हो भन्ने डर तामाङको मनमा छ ।
तामाङले एक झुत्ता बराबर ४ सयदेखि एक हजार रुपैया सम्म विक्री गर्नुहुन्छ । उहाँले प्रत्येक वर्ष काठमाण्डौं लगेर फुल विक्री गर्दै आउनुभएको छ ।
काठमाण्डौंको बजारमा फुल विक्री गरेको देखेर आफुले पनि फुल लगाउने सोच बनाएर कुनै तालिम र जानाकारी विना नै फुल खेती सुुरु गरेको उहाँ बताउनुहुन्छ । ‘गर्दैजाँदा सिकियो, बुझियो अहिले फुलखेतीबाट सन्तुष्ट नै छु’, तामाङले भन्नुभयो जग्गा बाँझो नराखौं बरु फुल खेती गरौं । 
फूलविक्रीबाट भनेको जस्तो आम्दानी नभएपनि बारीभरि ढकमक्क फूल फूलेको दृश्यले मन आनन्द हुनुका साथै रमाईलो लाग्ने तामाङ बताउनुहुन्छ । फूल नफुलुन्जेल सम्म तामाङलाई तिहारको आएको जस्तो पनि लाग्दैन ।

२ छोरा, बुहारी र नाता नातीनीले फूल खेतीमा सघाउँदै आएका छन् । अहिले तामाङको स–परिवार फुल टिप्न र माला बनाउनमा व्यस्त छन् ।
भिडियो हेर्नुहोस् :-
भिडियो छायांङ्कन/सम्पादन : राजेश रम्तेल