८ चैत्र,२०७७
ऐतिहासिक धरोहर, धार्मिक, सांस्कृतिक र पर्यटकीय रुपमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यका साथ यहि चैत्र १५ गते प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव २०७७ हुने भएको छ ।
साथै यस क्षेत्रलाइ धार्मिक र पर्यटकिय हिसाबले स्थापित गराइ धार्मिक, पर्यटनको माध्यमबाट, त्यस क्षेत्रका मानिसहरुको सामाजिक तथा आर्थिक विकास गर्न महोत्सवको आयोजना गरीएको मन्दिर संरक्षण समितिका सल्लाहकार तथा महोत्सव आयोजक समितिका सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
यस धार्मिक तथा पर्यटन महोत्सवको आयोजना ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ धादिङले गर्न लागेको हो ।
जलमुखी गाउँपालिका वडा नम्बर ६ र नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को सिमानामा अवस्थित यस मन्दिर पौराणिक, धार्मिक तथा ऐतिहासिक किम्वदन्ती अनुसार परापुर्व कालमा साविकको चैनपुर गाविस वडा नम्बर ७ तथा हालको जलमुखी गाउँपालिका वडा नम्बर ६ स्थित राना गाउँमा रहेको कुवाको बीचमा रहेको एक ढुंगा हटाउन खोज्दा ढुंगाबाट रगत निस्किएको र राती सपनामा म जलदेवी हुँ मलाइ गाउँको अग्लो ठाउँमा मन्दिर बनाएर राखि नियमित पुजापाठ गर्नु भनेपछि सबै गाउँले मिलेर उक्त समयमा मन्दिर निर्माण गरी पुजापाठ गर्न सुरु गरिएको इतिहास रहेको छ । साथै पृथ्वीनारायण शाहाले नेपाल एकिकरणको समयमा नुवाकोट आक्रमण गर्नु पूर्व यस जलमुखीमाई मन्दिरको दर्शन गरि गएकोले नुवाकोट आक्रमण सफल भएको पनि बताईन्छ ।

यस मन्दिरमा बढादशैं, मंसिर पूर्णिमा, फागुपूर्णिमा, पञ्चमी र चैत्र दशैंमा विशेष पुजाको साथै जात्रा र मेला लाग्ने गर्दछ । पुजा पाठ गर्न र मेला भर्नको लागि जिल्ला भीत्र र बाहिरी जिल्लाहरुबाट धेरैको संख्यामा भक्तजनहरु आउने गर्दछन् । समुन्द्र सतहदेखी करिब १००० मीटरको उचाईमा रहेको यस मन्दिरबाट गणेश हिमाल, माछापुच्छरे, मनास्लु हिमाल, नेपालको ठूलो टार सल्यानटार, उदाउँदो सुर्य र अस्ताउँदो सूर्य लगाएत छिमेकी जिल्लाका महत्वपूर्ण क्षेत्रहरुको दृश्यवलोकन गर्न सकिन्छ ।
धार्मीक, सांस्कृतिक र पर्यटकीय रुपमा महत्व राख्ने यस क्षेत्रलाइ विकास गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने यस अभियानमा मन्दिर तथा महोत्सवको अवलोकन गरी सफल पारिदिनुहुन स्थानीय तथा जिल्लावासी सबै क्षेत्र र समुदायलाई जलमुखी धार्मिक तथा पर्यटन महोत्सव आयोजक समितिले अनुरोध गरेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती पनि रहेको छ ।
साथै यस जलमुखी मन्दिर संरक्षण तथा निर्माणको काम पनि सुरु भएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उद्ययन मन्त्रालय अन्र्तगतको पुरातत्व विभागबाट विनियोजित ५१ लाख ५२ हजार ३ साय ९८ रुपैंया बराबरको रकम एस पि कन्स्ट्रक्सनसंग सम्झौता भई काम सुरु भएको छ । मन्दिर संरक्षण तथा निर्माणको काम २०७८ साल असार १५ सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।