७ फागुन, २०७७
भारतको महाराष्ट्र , गुजरात, मध्यप्रदेश लगाएतका राज्यहरुमा कोरोनाभाइरसको संक्रमण फैलिने क्रम पुनः बढेको छ । कोरोनाभाइरस तीव्र रूपले फैलिन थालेपछि त्याहाँका राज्य सरकारहरुले प्रतिबन्धहरू लगाउन थालिएको छ । भारतमा कोरोनाभाइरसको संक्रमण पुनः बढ्न थालेपछि त्याहाँ काम गर्न गएका नेपालीहरू भने समस्यमा परेका छन् । अब प्रभावित नेपालीहरु स्वदेश फर्किन सक्ने सम्भावनाको आकलन गर्दै नेपाल / भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल / भारत सीमामा रहेका १३ वटा हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ । रोजगारीका लागि भारतमा ठूलो संख्यामा नेपालीहरू बसोबास गर्ने गरेको र भारतको विभिन्न शहहरुमा करफ्र्यु र लकडाउनका साथै फागु पूर्णिमाका बेला सीमावर्ती क्षेत्र हुँदै आवतजावत बाक्लो हुने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने अधिकारीहरूको भनाइ छ । कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै गत वर्षको चैत्रमा गरिएको लकडाउन यता नेपाल भारत सीमा क्षेत्रमा सार्वजनिक सवारी साधनको आवतजावत बन्द छ । यद्यपि विभिन्न नाकाबाट मानिसहरू हिँडेरै आवतजावत गरिरहेका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको कुल संख्या २,७५,६२५ पुगेको छ । बिहीवार एकैदिन नेपालमा थप १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । तर केही महिनादेखि परीक्षणको संख्या घटेकाले कम सख्यामा सक्रमण पुष्टि हुने गरेको जनस्वास्थ्यविदहरूले बताएका छन् । केही समयदेखि नेपालमा पनि क्रमिक रूपमा कोरोनाभाइरस सक्रमण बढ्न थालेकोे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बास्तोलाले बताएका छन् । केही दिनदेखि सीमा नाका लक्षित योजना बनाइरहेका अधिकारीहरूले अब सीमा क्षेत्रमा लक्षण देखिएकाहरूलाई परीक्षण गरेर मात्रै देशभित्र आउन दिइने तयारी रहेको बताएका छन् । खासगरी लक्षणसहितका बिरामीहरू आएको खण्डमा उनीहरूको एन्टिजन परीक्षण गर्ने र उनीहरू प्रवेश गरेपछि विदेशबाट नेपाल आएकाहरूले पालना गर्नुपर्ने क्वारन्टीनका नियमहरू कडा रूपमा पालना गराउन स्थानीय निकाय र सम्बन्धित पालिकाहरूको सहयोग लिने नीति आफूहरूले लिन लागेको बताएका छन् । नेपाल / भारत सिमाको रक्सौल, जोगबनीजस्ता नाका हुँदै धेरैजसो मालसामान आयात गर्ने गरिन्छ । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, रूपेडिया, जमुनाहा, कृष्णनगर र काँकडभिट्टाजस्ता नाकाबाट धेरै मानिस आउने हुँदा हेल्थ डेस्क राखेर काम अघि बढाएको पनि अधिकारीहरूले बताएका छन् । साथै कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सम्बन्धि सबै किसिमका सुरक्षाका पापदण्डहरु अपनाउन पनि सबैलाई अनुरोध गरिएको छ ।