बुढीगण्डकीमा आएको बाढीका कारण ५ दिनदेखि अवरुद्ध गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत जाने बाटो आंशिक रूपमा खुलेको छ ।
बाटो खुलेसँगै रोकिएका स्थानीय बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । तर, बाटोमा अझै सहज आवतजावत हुन नसक्दा खाद्यान्न ढुवानीमा समस्या भएको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार गाउँपालिकाको आह्वानमा पालिकाले लगातार तीन दिन श्रमदान गरेपछि पैदल हिँड्न मिल्ने गरी बाटो खुलाएको हो ।
बुढीगण्डकीमा आएको बाढीले खानीबेँसी, माछाखोला, खोर्लाबेँसी र दोभानका झोलुङ्गे पुल तथा बेलिब्रिज बगाएपछि त्यस क्षेत्रको आवतजावत अवरुद्ध भएको थियो । गएको मंगलबारदेखि स्थानीयवासीले बाढीले थुपारेको लेदो हटाउने, मुढा तेस्र्याउने र भर्याङ राख्ने काम गरेर बाटो आंशिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।
बाटो खुलेपछि रोकिएर बसेका झण्डै एक सय जना भर्याङ र डोरीको सहायताले गाउँ पुगेका छन् । बाटोमा मानिस जसोतसो हिँड्न मिल्ने भए पनि भारी बोक्न र खच्चड चलाउन सक्ने अवस्था छैन । यसले गर्दा केरौँजा, केरौँजाबेँसी, लामाबेँसी र रुन्चेतका करिब ६ सय परिवारमा खाद्यान्न अभाव हुने जोखिम बढेको छ ।











