२०८३ कार्तिक ३, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update
आईसीसी विश्वकप क्रिकेट लिग–२ :

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको छ ।
अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनायो । नेपालका ३ जना खेलाडीले अर्धशतक बनाए । रोहित पौडेल ८०, दीपेन्द्रसिंह ऐरी ६९ र देव खनाल ५७ रन बनाएको आउट भए । ओमानका शाह फैसलले ४, जे ओदेद्राले ३ विकेट लिए ।

आजकाे खेलमा दीपेन्द्र र रोहितले चौथो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि भीम सार्की र गुल्सन झाले चौथो विकेटका लागि गरेकाे ९६ रनको साझेदारी आज तोडिएको हो ।

लिग–२ तालिकाको शीर्ष–६ मा अटाउन नेपाललाई यो खेल जित्नैपर्ने दबाव छ । यो शृङ्खलाको शुरुआती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल अस्ति शनिवार क्यानडासँग २४ रनले पराजित भएको थियो ।
क्यानडा ३६ खेलमा २९ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । नेपाल ३५ खेलमा २८ अङ्कसहित सातौँ स्थानमा छ । नेपालले ओमानलाई हराउन सके फेरि छैटौँ स्थानमा पुग्नेछ ।

लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ । यसअघि शीर्ष–४ को होडबाट बाहिरिइसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सीधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल