२०८३ कार्तिक ६, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै

दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै

दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।

देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।

तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजो विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत हिजो बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको थियो । त्यसअनुसार धेरैले साइतमा टीका लगाए । घटस्थापनाका दिन घरघरमा जमरा राखेर शुरु भएको बडादशैँमा नवरात्रभर शक्तिस्वरूपा नवदुर्गाको पूजा आराधना गरिएको थियो ।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले नेपाली समाजमा सुख, शान्ति, सद्भाव र समृद्धिको कामना बोकेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल