ज्याला नपाउँदा दशैंमा घर जान नपाएर निर्माणस्थलमै अलपत्र परेका १२ जना मजदुरलाई नीलकण्ठ नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले मजदुरलाई दाल, चामल, तरकारी र मासुलगायत खाद्य सामग्री वितरण गरेको हो ।
नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका मजदुर ५/६ महिनादेखि ज्याला नपाएपछि घर फर्कन सकेका छैनन् । हातमा पैसा नहुँदा घर जाने भाडासमेत जुटाउन नसकेका उनीहरू स्थानीय बासिन्दाको सहयोगमा गुजारा चलाइरहेका थिए । नगरपालिकाबाट खाद्यान्न पाएपछि मजदुरले राहत महसुस गरेका छन् ।
लामो समयदेखि ज्याला नपाएर दैनिक गुजारा चलाउनसमेत कठिनाइ भोगिरहेका मजदुरलाई खाद्यान्न सहयोगले तत्कालका लागि छाक टार्ने चिन्ता कम भएको छ ।
पुल निर्माणमा खटिएका ३६ जना मजदुरमध्ये २४ जना सरसापट गरेर वा घरबाट पैसा मगाएर दशैं मनाउन फर्किएका थिए । घर जाने खर्चसमेत जुटाउन नसकेपछि बाँकी १२ जना भने धादिङमै रोकिएका हुन् । उनीहरूमा सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक जना छन् ।











