२०८३ कार्तिक ५, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ठेकेदारले ज्याला नदिदा दशैं मान्न नपाएका मजदुरहरू

ठेकेदारले ज्याला नदिदा दशैं मान्न नपाएका मजदुरहरू

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका १२ जना मजदुर दशैंमा घर जान पाएनन् । काम गरेको ५/६ महिना बितिसक्दा पनि ठेकेदारले ज्याला नदिएपछि घर फर्कने भाडासमेत नभए उनीहरू दशैंमा घर जान नपाएका हुन् ।

दशैंमा परिवारसँग बसेर मिठोमसिनो खाने र छोराछोरीलाई नयाँ कपडा किनिदिने सपना बोकेका उनीहरू अहिले पुल बगैंचाका स्थानीयले दिएको खाद्यान्नको भरमा आफु दैनिकी चलाई रहेका छन् । सल्यानका अम्मर कार्कीलाई अझै दशैंमा घर पुग्ने आश छ । बाटो खर्चका लागि ठेकेदार कुरेका उनको दशैं सपना अधुरै बनेको छ । ठेकेदारले पैसा दिने आश्वासन दिँदै सधैं भोलि भनेर टार्ने गरेको उहाँले बताउनुभयो ।

‘एक जनाको ३० हजार रुपैयाँभन्दा बढी लिन बाँकी छ । हामी ३६ जना थियौँ । कतिपयले घरबाट पैसा मगाएर घर गए । हामी १२ जनाको बिचल्ली भयो,’ कार्कीले भन्नुभयो– ‘घर पुग्न तीन दिन लाग्छ । बाटो खर्च दिए पूर्णिमाअघि भए पनि पुगिन्थ्यो कि भन्ने आश छ ।’

‘ठेकेदारलाई पैसा माग्दा जहिले भोलि दिन्छु भन्छ । प्रहरीमा जाने कुरा गर्दा पनि पैसा दिन्छु भन्छ’ उहाँले भन्नुभयो– ‘आउँदिन भन्दैन, आउँछु भन्छ तर कहिल्यै आउँदैन । अहिले घर पुग्ने भाडा मात्रै दिएर पठाए पनि बाँकी पैसा पछि दिए हुन्थ्यो ।’

सल्यानकै सुशील खत्रीका लागि पनि यस वर्षको दशैं खल्लो बनेको छ । घरमा परिवारले बाटो हेरिरहेका छन् । तर ज्याला नपाउँदा उनी गाउँ फर्कन सकेका छैनन् । यसअघि धुवाकोटमा काम गर्दा पनि यस्तै समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।

‘घरबाट जहिले कहिले आउँछौ भनेर सोध्नुहुन्छ । दशैंमा मिठोमसिनो खानेकुरा लिएर जाउँला भन्ने थियो । तर आफैँसँग घर जाने भाडा समेत भएन,’ खत्रीले भन्नुभयो– ‘ठेकेदारले खाद्यान्न समेत व्यवस्था गरेको छैन । यहाँका बासिन्दाले खानेकुरा दिएर बाँचेका छौँ । हाम्रो दशैं खल्लो बन्यो । काम गराएर पैसा नदिने ठेकेदारलाई कारबाही हुनुपर्छ।’

सुर्खेतका काशीराम विक पनि दशैंमा घर जाने दिनको पखाईमा छन् । उहाँका छोराछोरी दशैंमा बुबाले नयाँ कपडा र मिठो खानेकुरा ल्याइदिने आशमा छन् । तर उहाँसँग घर फर्कने भाडासमेत छैन । ‘छोराछोरीले बुबाले कपडा र मिठो खानेकुरा ल्याउला भनेर कुरिरहेका छन् । उनीहरू रोइरहेका छन् । मैले त यहाँका मानिसले दिएको खाएर छाक टारेको छु । मेरा छोराछोरीले के खाएका होलान् ?’ विकले दुःखेसो पोख्दै भन्नुभयो– ‘उनीहरू दशैं मनाउने, हामी कामदारको चाहिँ दशैं नहुने हो र? हामी घर जान चाहन्छौँ । जसरी हुन्छ, घर जाने वातावरण बनाइदिनुपर्यो ।

पुल निर्माणमा रहेका ३६ जना मजदुरमध्ये २४ जना सरसापट गरेर तथा घरबाट पैसा मगाएर दशैं मनाउन फर्किए । तर घर जाने खर्चसमेत जुटाउन नसकेका सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक गरी १२ जना मजदुर साविकको नवदुर्गा आधारभूत विद्यालयको भवनमा बसिरहेका छन् । पुल बगैंचाका स्थानीयले दिएको खाद्यान्नले उनीहरूको छाक टरेको उनीहरु बताउँछन् ।

निर्माण व्यवसायी राजन आले मगरले भने घर नजाने निर्णय गरेका मजदुरलाई स्थानीयस्तरमै व्यवस्थापन गरिएको दाबी गरेका छन् । ‘घरमा जस्तै टिका लगाउने वातावरण बाहेक खाद्यान्न लगायत मासुजन्य परिकारको व्यवस्था गरिएको छ’ उहाँले भन्नुभयो– ‘पुल निर्माणको कामको सम्झौता गरेका श्याम बुढाथोकीले भुक्तानी नदिँदा समस्या भएको हो । धेरैलाई त पैसा दिएर घर पठाएको छु । तर उहाँहरुले घर नजाने भन्नुभएकोले पैसा पछि दिने भनिएको हो । पहिले भनेको भए दशैंमा उहाँहरूलाई पनि घर पठाउन सकिन्थ्यो । फेरी उहाँहरुले भने जस्तै प्रतिव्यक्ति ३० हजार दिन बाँकी भने छैन । आज भनेर दशैंको बेला अहिले नै उहाँहरुलाई पैसा दिएर घर पठाउन सकिन्न ।’

मजदुरको समस्या समाधानका लागि पहल भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बताउनुभएको छ । पुल निर्माणको काम पूर्वाधार विकास कार्यालय अन्तर्गत भइरहेको हो । ठेकेदारसँग पनि कुराकानी भइरहेको छ । उहाँहरूलाई घर पठाउन पहल गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल