सांसद बसुमाया तामाङले आफ्नो अभिव्यक्ति जातीय विवाद सिर्जना गर्ने उद्देश्यले नभई समावेशिता, समान अवसर र पछाडि पारिएका समुदायको नेतृत्वमा सहभागिताका पक्षमा रहेको स्पष्ट पार्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो भनाइको आशय स्पष्ट पार्दै सांसद तामाङले कुनै जाति, समुदाय वा सम्प्रदायप्रति विभेद गर्ने अथवा जातीय विवाद सिर्जना गर्ने उद्देश्य आफूमा नरहेको बताउनुभएको हो।
उहाँले ऐतिहासिक रूपमा पछाडि पारिएका तामाङलगायतका समुदायले अरूलाई मात्रै अगाडि बढाउने नभई अब आफ्नै अधिकार, अवसर र प्रतिनिधित्वका लागि नेतृत्वमा आउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
त्यसैगरी, महिलाका लागि सुनिश्चित गरिएका समावेशी अवसरमा महिलाहरू स्वयं अगाडि आउनुपर्ने र पछाडि परेका जातजाति तथा समुदायले क्षमता विकास गर्दै नेतृत्व र निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउनुपर्ने उहाँको भनाइ छ।
“मेरो भनाइ कसैलाई पछाडि पार्ने होइन, पछाडि परेकाहरूलाई पनि अगाडि ल्याउने हो,” तामाङले भन्नुभएको छ।
आफ्नो अभिव्यक्तिलाई वास्तविक आशयभन्दा फरक ढङ्गले प्रस्तुत गरी सामाजिक सञ्जालमा अनावश्यक जातीय विवादको विषय बनाइएको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ। यद्यपि, आफ्ना कुनै शब्द वा अभिव्यक्तिले कुनै जाति, समुदाय वा सम्प्रदायको भावना तथा आत्मसम्मानमा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गर्ने उहाँले बताउनुभएको छ।
तामाङले सबै जातजाति, भाषा, धर्म र समुदायबीच आपसी सम्मान, सद्भाव, समानता र सहअस्तित्व कायम हुनुपर्नेमा जोड दिनुभएको छ। समावेशिताको पक्षमा बोल्नु जातीय विभेद गर्नु नभएको र आफ्नो समुदायलाई अगाडि बढ्न प्रेरित गर्नु अन्य समुदायको विरोध गर्नु नभएको उहाँको भनाइ छ।
“मेरो उद्देश्य समाजलाई विभाजन गर्ने होइन, सबैलाई जोड्ने हो। कसैलाई कमजोर बनाउने होइन, सबैलाई सशक्त बनाउने हो,” उहाँले स्पष्ट पार्नुभएको छ। पछिल्लो समय सामाजिक अभियन्ताले परिचित राम तामाङले सांसद बसु माया तामाङले तामाङ भाषामा जातिय द्वन्द्व फैलाउने अभिव्यक्ती दिएको भन्दै सामाजिक सञ्जालमा राख्नुभएको थियो ।











