धादिङ ।आसन्न स्थानिय तह निर्वाचनमा धादिङको नीलकण्ठ नगरपालिकाको मेयर पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने कलाकार एवं व्यवसायी श्याम कुमार श्रेष्ठ (श्याम शितल) ले संकेत गर्नुभएको छ। उहाँको सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक अभिव्यक्तिपछि स्थानीय राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।
श्रेष्ठले फेसबुकमा “ नीलकण्ठ नगरपालिकाको मेयर बालेन हुने खालको फोटो भन्नु भो साथीहरुले खै के भनेका हुन 😁😁😁” भन्दै फोटोमा क्याप्सन राख्नुभएको छ। उहाँको उक्त पोस्टलाई धेरैले आगामी स्थानीय निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने संकेतका रूपमा व्याख्या गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट नीलकण्ठ नगरपालिकाको मेयर पदका लागि विभिन्न आकांक्षीहरूको नाम चर्चामा आइरहेका बेला श्रेष्ठको यो अभिव्यक्तिले राजनीतिक चासो थप बढाएको छ। यद्यपि, उहाँले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसक्नुभएको भने पुष्टि भएको छैन।

लामो समयदेखि जापानमा होटल व्यवसाय गर्दै आउनुभएका श्रेष्ठ सञ्चारकर्मीका रूपमा समेत परिचित हुनुहुन्छ। सञ्चार क्षेत्रमा अनुभव बटुल्नुभएका उहाँ गायन क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएको छ।
कलाकारिता, सञ्चार र व्यवसायमा संलग्न श्रेष्ठले राजनीतिमा सक्रिय हुने संकेत गरेसँगै नीलकण्ठ नगरपालिकाको आगामी स्थानीय निर्वाचनमा नयाँ अनुहारको सम्भावनाबारे पनि चर्चा हुन थालेको छ।
उहाँले वास्तवमै रास्वपाबाट मेयर पदमा उम्मेदवारी दिनुहुन्छ वा सामाजिक सञ्जालमा व्यक्त विचार सामान्य संकेत मात्रै हो भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।











