मंसिर १८,धादिङ ।
मनोसामाजिक सहयोग सम्बन्धी कचहरी नाटक धादिङको विभिन्न स्थानहरुमा मञ्चन भईरहेको छ । अमेरीकेयर ईज्रा एड र टिपिओ नेपाल तथा याताना पिडित सरोकार केन्द्र सिभिक्टको संयुक्त प्रस्तुतीमा मनको चौतारी कार्यक्रम अन्र्तरगत नाटक ‘कुमारी’ धादिङमा पनि मञ्चन भईरहेको हो ।
सविना बडालको निर्देशन रहेको नाटकलाई पहिलो र दोश्रो खण्डमा विभिजन गरि मञ्चन हुँदै आएको छ । नाटकको पहिलो खण्डमा क्षारे रोग, र अहिले जिल्लाकै टट्कारो समस्याको रुपमा रहेको छोप्ने व्यथा अर्थात रुपान्तरीत विकृतिको लक्षण र समाधानका उपायका बारेमा दर्शकहरुको बिचमा प्रत्यक्ष छलफल गरि समस्याको समाधान खोजिने नाटकका नेतृत्वकर्ता तथा सुत्रधार वुद्धिशंकर सुनारले बताउनुभयो । त्यसैगरि पहिलो खण्ड लगत्तै दोश्रो खण्डमा प्रवेश हुँदा नाटकमा घरायसी बोझ एक्लैले लिँदा त्यसले निम्त्याउने चिन्ता र त्यही चिन्ता अरुसँग व्यक्त नगर्दा उदासिनता हुँदै आत्माहत्याको सोचाई समेत आउन सक्ने नाटकमा देख्न सकिने उहाँको भनाई छ ।
मनमा भएको पिडा, डर, त्रास, तनावलाई बेलैमा सकरात्मक सोचाईबाट व्यवस्थापन गर्न सकियो भने मानसिक रुपमा स्वस्थ हुने उहाँ बताउनुहुन्छ । परिवारको एउटा सदस्यलाई समस्या पर्दा उसको परिवार, समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पर्न सक्ने भएकाले परिवारको समस्या परिवारले नै समाधान खोज्नु पर्ने, सामाजिक रुपमा आवश्यक सकरात्मक सहयोग भएको खण्डमा विकृति, विसङ्गती समेत कम हुन सक्ने सन्देश नाटकले बोकेको छ । रातपछि दिन आउँछ, दुःख पछि सुःख आउँछ, दुःख चोट, पिडा, तनाव सबैलाई पर्छ, मलाई मात्र परेको छ भनेर नतड्पिकन समस्यासँग जुध्न नाटकले प्रेरणा समेत दिएको छ ।
साविकको सेम्जोङ गाविसमा मञ्चन सम्पन्न भईसकेको नाटक जिल्लाको अन्य गाविसहरु बसेरी, दार्खा, फुलखर्क, मार्पाक लगायतका स्थानहरुमा मञ्चन हुने सुनारले जानाकारी दिनुभयो । करिब ४० मिनेटको समयावधी रहेको कचहरी नाटकमा सम्झना तामाङ, विपुल थापा, प्रमिला सुनार, सन्तोष तामाङ र समि राई कलाकारहरुको बुलंद अभिनय रहेको छ । धादिङ र नुवाकोटका विद्यालयहरुमा समुहगत रुपमा विद्यार्थीहरु बेहेस भएर ढल्ने समस्या, उदासिनता, पारिवारिक कलह, क्षारे रोगको समस्या, आत्महत्या, मद्यपान लगायतको समस्या धेरै भएको नाटक पश्चात दर्शकहरुले प्रतिक्रिया दिने गरेका छन् ।

 

मनको चौतारी कार्यक्रम अन्र्तरगत धादिङमा दुई जना मोहन पोखरेल र कुमार पौडेल मनोविमर्शकर्ताहरुले आवश्यक परेका ठाउँहरुमा सहयोग गर्दै आईरहनु भएको छ । धादिङ लगायत नेपालको ६ ओटा जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र काभ्रेमा दुई ओटा नाटक समुहले मञ्चन गरिरहेको छ ।

Facebook Comments