मंगलबार रातीदेखि पानी पर्न थालेपछि यतिखेर धादिङ लगायतका क्षेत्रमा अत्याधिक चिसो बढेको छ । चिसोका कारण नागरिकको जनजिवन प्रभावित बनेको छ । उत्तरी धादिङको तिप्लिङ, सेर्तुङ, झार्लाङ, रि लगायतका स्थानमा मंगलबारसाझ देखि नै बाक्लो हिउँ परेको छ ।

हिमपातका कारण नागरिकहरुलाई बाहिर हिड्डुल गर्न समस्या भएको रुविभ्याली गाउँपालिका वडा नम्बर ५ का सोमबहादुर तामाङले जानकारी दिनुभयो । गाउँमा १ फिट सम्म हिउँ परेको उहाँले बताउनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय धादिङले अत्याधिक चिसो बढेका कारण सर्तकता अपनाउन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले हिमपात तथा चिसोका कारण स्थानिय जनजीवनमा उत्पन्न हुन सक्ने कस्टकर अवस्थालाई मध्यनजर गर्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।

यस्तै स्थानिय तहका प्रमुख, नेपाल रेडक्रम सोसाईटी, धादिङ, सरकारी तथा गैरसरकारी संस्था लगायतलाई स्थानिय बासिन्दा तथा तिनका पशुपंक्षी, जिविकोपार्जनसँग प्रत्यक्ष जोडिएका श्रोत साधनहरुको उद्धार तथा संरक्षण गरिदिन अनुरोध समेत गरेको छ ।

चिसोबाट आर्थिक सामाजिक रुपले विपन्न र जोखिममा रहेका व्यक्ती तथा समुदायका नागरिकहरुको उद्धार तथा संरक्षण गर्न आवश्यक पर्ने न्यानो कपडा, खाद्यन्न, औषधी तथा नियमपुर्वक संकलित दाउराहरु लगायतका सामाग्रीहरुको व्यवस्थापन गरि सम्बन्धी स्थानिय तहको स्वीकृतिमा वितरण गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालले अनुरोध गर्नुभएको छ ।

Facebook Comments