
ज्वालामूखी गाउँपालिकाका वडा नम्बर १, २ र ३ वडा अन्तर्गत रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान सञ्चालन गर्ने सरोकारवाला निकायले संकल्प गरेका छन् । समाजवाद उन्मुख शिक्षाको आधार, गुणस्तरिय शिक्षाका लागि पूर्वाधार एवम् सिकाइ उपलब्धिमा व्यापक सुधार भन्ने मूल मर्मका साथ पिनाकल कलेज लगनखेल, ललितपुरले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमले योजना निर्माण गरी शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने संकल्प गरेका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान अन्तर्गत छलफल कार्यक्रमको सम्बोधन गर्दै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिका तत्पर रहेको बताउनुभयो । पिनाकल कलेजले ज्वालामुखी गाउँपालिका अन्तर्गत रहेका विद्यालयको शैक्षिक सुधार र शैक्षिक योजना निर्माण गर्न यो अवसर जुटाइदिएको छ ।

उहाँले भन्नुभयो,– ‘शैक्षिक सुधार गर्न विशेषगरी प्रधानाध्यापकहरुको बढी भूमिका रहेको छ । थोरै सक्रियता बढाइदिनुभयो भने सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरै बालबालिकाहरुको भविष्य सुनौलो हुन्छ । कहि विद्यालय समायोजन गर्नुपर्ने छ । कतै दरबन्दि मिलान गर्नु पर्ने छ । धेरै खालका समस्याहरु पनि छन् । तर सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरे सामुदायिक विद्यालयको शैक्षिक सुधार हुन्छ ।’ उहाँले बताउनुभयो । अहिले तिन वडा अन्तरगत रहेका विद्यालयहरु समेटिएका छन् ।
आगामी दिनमा सातै वडामा यस कार्यक्रम संचालन गर्न पिनाकल कलेजका क्याम्पस प्रमुख र अध्यक्षलाई उहाँले अनुरोध गर्नुभयो । कलेजले सक्रियता देखाएको छ । ज्वालामुखीबासीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न पालिकाले गर्नु पर्ने सहयोगका लागि तयार रहेको उहाँले बताउनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ज्वालामुखी गाउँपालिकाका तिन वटा वडा अन्तर्गतका विद्यालयहरुमा शैक्षिक स्तर सुधारका लागि पिनाकल कलेज लगनखेल, ललितपुरले सहयोग गरिरहेको क्याम्पस प्रमुख डाक्टर ऋषिप्रसाद तिवारीले बताउनुभयो । धादिङको ज्वालामुखी गाउँपालिकाका तिन वटा वडाबाट शुरु गरेका छौं ।
उहाँले भन्नुभयो,– ‘धादिङका सबै विद्यालयमा यस कार्यक्रम पु¥याउँछौं । अहिले नुमनाको रुपमा ज्वालामुखीका केहि विद्यालयहरुमा थालनी गरेका छौं । सामुदायिक विद्यालय गुणस्तरिय शिक्षा प्रदान गर्छ भन्ने विश्वास आम नागरिकमा पु¥याउनु पर्छ । शैक्षिक सुधारका कार्यक्रमहरु गरी शिक्षाको स्तरमा वृद्धि गर्न सके शिक्षाको गुणस्तरमा वृद्धि हुन्छ । तर शिक्षाको स्तर उठाउनै पर्छ । त्यसकै लागि पिनाकल कलेज लगनखेल, ललितपुरको सहकार्य रहेको हो ।’
रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा उपस्थित जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापकहरु लगायतले शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने संकल्प गरेका छन् । विद्यालय शिक्षा योजना निर्माणका लागि सहयोग गर्ने, बालमैत्री शैक्षिक वातावरण बनाउने, विद्यालयमा शैक्षिक सामाग्री बैंकको स्थापना गर्ने, बालबालिकाको दैनिक अभिलेख राख्ने, आमा समुह गठन गर्ने, अन्य विद्यालयका राम्रा पक्षको अनुशरण गर्ने, प्रयोगात्मक अभ्यासका लागि प्रयोगशाला र कार्यशालाको सदृढीकरण गर्ने, सबै शिक्षकलाई कम्प्यूटर तालिम दिने र प्रविधिमैत्री सामाग्रीको उच्चतम प्रयोग गर्ने, समयमै विद्यालय सुधार अध्यावधि गर्ने, विद्यालयलाई आकर्षक सिकाईको थलो बनाउने, विषयगत सिकाइ उपलब्धि ७० प्रतिशत पु¥याउने, शिक्षकलाई तालिमको व्यवस्था गर्ने, सदृढ शिक्षा कोषको स्थापना गर्ने र विद्यालय शैक्षिक कोषको स्थापना गर्ने लगायतका संकल्पहरु रहेका छन् ।