नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखामा आज तालाबन्दी गरिएको छ । रेडक्रस धादिङ शाखाको ३६ औँ साधारणसभा तथा १२ औँ अधिवेशन चलिरहेको समयमा जिल्ला शाखाको कार्यालयमा तालाबन्दी भएको हो ।
मार्पाक उपशाखामा २ सय ५९ जना आजिवन सदस्यमध्ये १ सय २३ जना आजिवन सदस्यले आफुलाई जानकारी नै नदिई साधारणसभा गरेकोले मार्पाक उपशाखाको साधारणसभा र अधिवेशन पुनः गर्न माग गर्दै मार्पाक उपशाखाका पुर्व सभापति समेत रहनुभएका चन्द्रबहादुर अधिकारीको नेतृत्वमा तालाबन्दी भएको हो ।
असन्तुष्ट पक्षले उपशाखाको पुनः निर्वाचन गराउन र जिल्ला शाखाको अधिवेशनमा सहभागी नगराउन समेत माग गरेका छन् । गत पुष २३ भएको भनिएको उपशाखा अधिवेशन तथा साधारणसभामा आजिवन सदस्यहरुलाई खबर नै नगरी केहि सिमित सदस्यहरु मात्र सहभागि भएर साारणसभा तथा अधिवेशन गरेको उनीहरुको आरोप छ । पुनः साधारणसभा गर्न माग गर्दै असन्तुष्ट पक्षले पुस २८ गते जिल्ला शाखामा १ सय २३ जना आजिवन सदस्यहरुको हस्ताक्षरसहित उजुरी दिएको अधिकारीले बताउनु भयो ।
तर जिल्ला शाखाले आजिवन सदस्यको माग सम्बोधन नगरेपछि फागुन २ गते जिल्ला प्रशासन कार्यालयमा आजिवन सदस्यहरुको हस्ताक्षर सहित उजुरी दिएको पनि अधिकारीले बताउनु भयो । यता साधारणसभा सञ्चालन भईरहँदा समेत आफ्ना माग सम्बोधन नभएकोले वाध्य भएर ताला लगाएको र यति गर्दापनि माग सुनुवाई नभए न्यायिक निकायसमक्ष जाने पनि बताएका छन् ।











