
धादिङ– धादिङको गजुरी गाउँपालिका–२ तुदिखोलामा पक्किपुल निर्माणको काम अगाडि बढेको छ । प्रतिनिधि सभा धादिङ क्षेत्र नं. १ का संसद तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज बिहिबार एक कार्यक्रमकाबीच तुदीखोलामा निर्माण सुरु हुन लागेको पक्की पुलको शिलान्यास गर्नुभएको छ ।
पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री हुदा उक्त पुलका लागि बजेट बिनियोजन गरेका थिए । उक्त पुलको प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले भरतपुर स्थित भद्रकाली निर्माण सेवालाइ रु. ४ करोड ४४ लाख ९६ हजार ३८३ मा ठेक्का लगाएको छ । उक्त पुल आगामी २०८१ असार ५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
पक्कि पुल शिलान्यास भए संगै स्थानीयमा खुसियाली छाएको छ । पुल निर्माण भएपछि स्थानीय उत्पादनलाई बजार लैजान सहज हुनेछ । यसका साथै मलेखु भण्डारा चेपाङ मार्ग, ताल्ती जान एवम् चिनिया लगानीमा धादिङमा सञ्चालित हुवासिन सिमेन्ट फ्याक्ट्रीमा जान सहज हुनेछ ।
शिलान्यास कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, जिल्ला भुमि आयोग अध्यक्ष कृष्णप्रसाद अर्याल,वडा अध्यक्ष द्रोण कडेल ,पुर्व वडा अध्यक्ष चुडामणि कँडेल लगायत स्थानीयको उपस्थिति रहेको थियोे। ।