
नेकपा एमाले पार्टीको केन्द्रिय कमिटीले नयाँ रणनीति तय गरि अगाडि बढ्ने निर्णय गरेको नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटाले बताउनुभएको छ। नेकपा एमाले पार्टीलाई चारैतिरबाट भएको घेराबन्दी तोड्न र जनतालाई नेकपा एमाले पार्टी प्रती एकताबद्ध पार्न यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।
देश यतिबेला भ्रष्टाचारमा लिप्त रहेको , बिकास आयोजनाहरु अलपत्र पारेको र जनताको जनजिविका महंगिले कष्टकर हुँदै गएकोले नेकपा एमालेले सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने बताउनुभयो । साथै हरेक घरका युवाहरुलाई नेकपा एमाले पार्टीमा संगठित गर्दै आगामी निर्वाचन सम्म नेकपा एमाले पार्टी युवाहरूको पार्टी बनाउन आवश्यक रहेको बताउनु भयो ।
नेकपा एमाले जिल्ला कमिटी धादिङको शुक्रबार भएको सातौं पुर्ण बैठकमा प्रमुख आतिथ्यता गर्नुभएका नेता देवकोटाले नेकपा एमालेका नेता कार्यकर्ता पनि स्वच्छ , इमानदार र नैतिकवान हुनुपर्ने , जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने र पार्टी भित्रका आन्तरिक गुनासो / समस्यालाई आत्माआलोचित हुँदै पार्टी भित्रैबाट समाधान गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय कमिटी सदस्यहरु खेम लोहनी , जानुका सिम्खडा , केन्द्रिय लेखा आयोग सदस्य मिनराज कँडेल ,केन्द्रिय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल , रामप्रसाद अधिकारी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
नेकपा एमाले केन्द्रिय कमिटीका सदस्य तथा पुर्व सांसद खेम लोहनी धादिङ जिल्ला इन्चार्जको रूपमा रहनुभएकोमा केन्द्रिय कमिटीको पछिल्लो कार्यबिभाजन अनुसार केन्द्रिय कमिटी सदस्य धर्मदत्त देवकोटा धादिङ जिल्लाको पार्टी इन्चार्ज तोकिनुभएको हो भने यसअघि धादिङको इन्चार्ज रहनुभएको खेम लोहनी सिन्धुली जिल्लाको इन्चार्ज तोकिनुभएको छ ।
यसैगरी धादिङ जिल्ला निर्वाचन क्षेत्र न १ को पालिकाहरुको इन्चार्जमा जानुका सिम्खडा र निर्वाचन क्षेत्र न २ को पालिकाहरुको इन्चार्जमा रोशन लामा तोकिनुभएको छ । कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष भुमि त्रिपाठिले पार्टीको नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रिय सदस्यहरु जिल्ला इन्चार्ज धर्मदत्त देवकोटा, जानुका सिम्खडा र रोशन लामालाई स्वागत तथा निवर्तमान इन्चार्ज खेम लोहनीलाई बिदाइ गर्नुभएको थियो ।
प्रदेश कमिटीका सदस्यहरु जिल्ला कमिटीका सदस्यहरु र पालिका कमिटीको अध्यक्षहरुको सहभागिता रहेको बैठकमा नेकपा एमाले जिल्ला कमिटी धादिङले यो असार महिनाभित्र गर्ने कार्यक्रमको कार्ययोजना पास गरेको छ ।