धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको भैरवी मन्दिरमा पर्यटन प्रवर्द्धनका लागि दौड प्रतियोगिता गरिएको छ । मन्दिरको प्रचारसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले सुनौलाबजारदेखि भैरवी मन्दिरसम्म खुल्ला दौड प्रतियोगिता गरिएको हो ।
दौड प्रतियोगितामा धादिङका सन्देश घले प्रथम, पावल तामाङ द्धितीय, राम घले तृतिय र रविन थापा सान्त्वना भएका छन् । विजेतालाई नगदसहित ट्रफी प्रदान गरिएको छ । नेकपा माओवादी केन्द्रले जनता संग माओवादी रुपान्तरण अभियानको अवसरमा आयोजना गरेको प्रतियोगितामा बालकदेखि वृद्ध उमेरसम्मका २९ जना सहभागी थिए । माओवादीले धादिङमा १०४ वटै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको छ ।
जिल्लाकै परिचय दिने भैरवी मन्दिरको प्रचारमा सबै राजनितिक दल, जनप्रतिनिधि एक जुट भएर लाग्नु पर्ने नेकपा माओवादी केन्द्रका नेता दिपक विश्वकर्माले बताउनुभयो । ‘भैरवी मन्दिर धार्मिक स्थलहरुमध्ये ऐतिहासिक महत्व बोकेको स्थल हो । पछिल्लो समय भैरवी मन्दिर पर्यटककोे रोजाइ बनेको छ । यहाँको पर्यटन प्रवद्र्धनले जिल्लाको शिर उचो राख्नेछ,’ उहाँले भन्नुभयो ।
पछिल्लो समय घुम्ने भैरवी मन्दिरको जीर्णेद्धार भैरहेको छ । २०७२ सालको गोर्खा भुकम्पले जीर्ण बनेको मन्दिर जीर्णाेद्धारको काम ९० प्रतिशत काम सकिएको छ । मन्दिर आसपासमा आवश्यक पर्ने संरचनाहरु निर्माण भैरहेको छ ।