धादिङको नीलकण्ठ नगरपालिका–३ शान्तिटारमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयलाई शैक्षिक तथा खाद्य सामाग्री वितरण गरिएको छ । ४४ औं सामाजिक सेवा दिवसको अवसर पारेर प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले शनिवार सामाग्री वितरण गरेको हो । 
बजेट अभावले विद्यालयलाई व्यवस्थित गर्न समस्या परेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयका प्रधानाध्यापक शर्मिला अधिकारीले बताउनुभयो । । प्रयास नेपालले खाद्य तथा शैक्षिक सामाग्री सहयोग गर्नुहुदा खुषी लाग्यो । उहाँले भन्नुभयो –‘विद्यार्थीलाई पोषिलो खानेकुरा खुवाउन सकिएको छैन । खाद्यान्नको अभाव छ । महिनामा प्रति विद्यार्थी चार हजार आउने छात्रवृत्ति पनि दश महिना मात्रै आउँछ । दुइ लाख श्रोत कक्षा अनुदान, ३० जना विद्यार्थीको छात्रवृत्ति बापत आउने बाह्र लाख र कहिलेकाँहि पाइने यस्तै सामाजिक संस्था तथा समाजसेवीहरुको सहयोगले विद्यालय चलेको छ ।’
नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा रहेका बालबालिकाको हितमा काम गर्ने सोच रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । । २०५८ सालमा स्थापित प्रयास नेपालले सामाजिक कार्य गर्दै आएको छ । उहाँले भन्नुभयो – ‘एक जना साथी मार्फत यस विशेष विद्यालयमा विभिन्न आवश्यकताहरु रहेको जानकारी पायौं । तत्कालको लागि शैक्षिक सामाग्री, फलफुल तथा खाद्य सामाग्री वितरण ग¥यौं । आगामी दिनमा यस विशेष विद्यालयलाई बालमैत्री बनाउन र बालबालिकाको हितमा काम गर्न प्रयास नेपालले योजना बनाएर अघि बढ्ने सोच बनाएका छौं ।’
नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा हाल ३० जना बालबालिकाहरु रहेका छन् । बौद्धिक अपाङ्गता भएका उत्तरी धादिङदेखि दक्षिणी धादिङसम्मका विद्यार्थीहरु यस विशेष विद्यालयमा आएका छन् । तर सरकारको नजर नपुग्दा विशेष विद्यालय सञ्चालन गर्न ठूलै समस्या तथा चुनौतिको सामाना गर्नु परेको हो ।
