
धादिङको नीलकण्ठ नगरपालिका– ४ खानीगाउँको सडक छेउमा फेला परेको सालकको वन कार्यालयको जिम्मा लगाइएको छ ।
नीलकण्ठ नगरपालिका–३ का राधाकृष्ण भण्डारी शुक्रबार विहान पैदल हिड्ने क्रममा सडकमा सालक भेटेपछि उहाँले उद्धार गरी डिभिजन वन कार्यालय धादिङलाई बुझाउनुभएको हो । यस वर्ष मात्रै तीन वटा सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘शुक्रबार उद्धार गरिएको सालक २६ इन्चको लम्बाइ, १६ इन्चको मोटाई सहित २ किलो ३०० ग्राम रहेको छ । सालकको उद्धार गरेर राधाकृष्ण भण्डारीले कार्यालयमै ल्याइदिनुभयो । वन्यजन्तु संरक्षणमा खेल्नु भएको भूमिका प्रति हामी आभारी छौं ।
सबै नागरिक सचेत भए वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘सालक दुर्लभ बन्यजन्तु हो । किसानको त साथी नै हो । सालकले धमिरा खाइदिन्छ । वातावरण सन्तुलनमा पनि सालकको उस्तै भूमिका रहेको हुन्छ’,उहाँले भन्नुभयो। उद्धार गरिएको सालकलाई सिद्धलेक गाउँपालिकाको सामुदायिक वनमा छोडिएको छ ।
आफ्नो गाउँघर वरपर सालक तथा अन्य दुर्लभ जीव जनावर देखे वन कार्यालय वा सम्बन्धित निकायमा जानकारी गरिदिनुहुन उहाँले आग्रह गर्नुभयो । सालक दुर्लभ वन्यजन्तु अन्तर्गत पर्दछ ।