युवाहरुलाई यहि देशमा बस्न लायकको बनाउन धेरै भन्दा धेरै सिप विकासका तालिमहरु सञ्चालन गर्नुपर्ने श्रम रोजगार तथा सामाजिक विकास मन्त्री डि.पि अर्यालले बताउनुभएको छ । सम्पूर्ण राजनितकि दलहरु एक ठाउँमा उभिएर यो देशको समृद्धिको र नागरिकलाई यहि देशमा बस्नलायकको बनाउन अघि बढ्नुपर्ने बताउनभयो ।

नीलकण्ठ नगरपालिकाले धादिङबेसीमा आयोजना गरेको ‘युवा सीप,तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्नुहँदै उहाँले यस्तो बताउनुभएको हो । आगामी आर्थिक वर्षको सुरुको महिनादेखि नै देशैभरि सिप मुलक तालिमको आयोजना गर्न लागिएको बताउनुभयो । रोगजार बैंक सञ्चालन गर्ने योजना अनुरुप तथ्याङ्क संकलनको कामलाई अघि बढाउन लागिएको उहाँको भनाई थियो ।

नीजि क्षेत्रलाई जति सवल बनाउन सक्यौ त्यतिनै देशमा रोजगारीको सिर्जना गर्न सकिने बताउनुहँुदै मन्त्री अर्यालले तिनै तहको सरकारले निजि क्षेत्रसँग समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले गरेको रोजगार मेलाले युवाहरुलाई सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

यस्तै मन्त्री अर्यालले संघिय सरकारले आयोजना गरेको श्रमाधान मेलाले समाजलाई सकरात्मक सूचना प्रवाह गरेको बताउनुभयो । मेलाले देशमा भईरहेको रोजगारीको अवस्था, रोजगारीदाता , कस्ता नागरिक के कस्ता रोजगारीको खोजीमा छन् भन्ने सूचना आदान प्रदान भने भएको दाबी गर्नुभयो ।

संघिय सांसद रामनाथ अधिकारीले मेलामा युवाहरुमा भएको सिपलाई प्रर्वद्धन गर्न नगरपालिकाले आयोजना गरेको मेलाले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । तीन तहको सरकार मध्ये स्थानिय सरकारले गरेको यो मेलाबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । अहिले सञ्चालनमा रहेको तिनै तहको सरकार रहर लाग्दो, भर लाग्दो र विश्वास लाग्दो गरि सञ्चालन हुनुपर्ने बताउनुभयो ।

नगरपालिकाले व्यवसाय गर्न ईच्छुक युवाहरुलाई सिपमुलक तालिम प्रदान गरि सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन समन्वयको काम गरिरहेको नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले बताउनुभयो । नगरपालिकाले ऐन बनाएर मेयर उद्यमशित कार्यक्रम सञ्चालन गरिरहेकोले सिप सिकेर उद्यमी बन्न चाहनेलाई १५ लाख लिन नगरपालिका आउन समेत आग्रह गर्नुभयो ।

युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत सञ्चालन भएको रोजगारमा मेलामा विभिन्न क्षेत्रका विषय विज्ञहरुसँग छलफल तथा वहषको कार्यक्रम पनि सञ्चालन गरिएको थियो । रोजगारीको खोजिमा रहेका विविध क्षेत्रका युवाहरुलाई रोजगारदातासँग जोड्न, उधमशीलता तथा स्वरोजगारका अवसरका वारेमा ज्ञान आर्जन गर्न, हातमा सिप हुनेलाई रोजगारीको अवसर प्रदान गर्न मेलाको आयोजना गरिएको उपप्रमुख विश्वकर्माले बताउनुभयो । मेलामा सरकारी, निजी, गैरसकारी क्षेत्रका रोजगारी, सिप, तालिम, व्यवसाय तथा समग्र श्रम सम्बन्धी स्टलहरु रहेका थियो ।

Facebook Comments