जिल्ला प्रहरी कार्यालय धादिङमा रहेको बेवारिसे मोटरसाईकलको लिलामी गरेको छ । नेपाल प्रहरीले जिल्लामा पहिलो पटक बेवारिसे मोटरसाईकलको लिलामी गरेको हो ।
नेपाल प्रहरीले विभिन्न चेकजाँचको क्रममा तथा अन्य अवस्थामा बेवारिसे अवस्थामा फेला पारेको १ सय ९० मोटरसाईकल र स्कुटर लिलामी गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।
विभिन्न ५ ओटा सप्लायर्सले टेण्डर हालेकोमा समित एक्सपा सेन्टरले लिलामीमा पत्रु मोटरसाईकल टेण्डर पारेको हो । नेपाल प्रहरीको हेडअफिसको स्विकृतिमा भ्याट बाहेक ७ लाख ९१ हजारमा लिलामी गरिएको मिश्रले बताउनुभयो ।
लिलामी गरिएको बुधबार मोटरसाईकल र स्कुटर पत्रु बनाएर सप्लायर्सले लगेको हो । मुद्दामा रहेको मोटरसाईकल तथा स्कुटर र अन्य सवारी साधन भने लिलामी गरिएको छैन । लिलामीमा लगिएको मोटरसाईकल र स्कुटर पुरानो नम्बरमा प्रयोग गर्न पाइने छैन ।











