पोखरा स्थित हर्पन खोलामा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ लपाङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा बस्दै आएका २५ वर्षीय सन्तोष सिंखडा रहेका छन् ।
हर्पन खोलामा पौडी खेल्नेक्रममा सिंखडा डुबेर बेपत्ता भएका सन्तोषको शव मंगलबार दिउँसो ३ः२० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सिंखडा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि काठमाडौँ बस्दै आएका सन्तोष एक सातादेखि पोखरास्थित ससुराली घरमा बस्दै आएका थिए । उनकी श्रीमती सावित्री तामाङ पोखरामा नै जागीर गर्दै आएकी थिइन् । पारिवारिक स्रोतका अनुसार सन्तोष र सावित्रीबीच डेढ वर्ष अघिमात्र विवाह भएको थियो ।