२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज हरितालिका तीज पर्व मनाइँदै, पशुपतिलगायतका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल

आज हरितालिका तीज पर्व मनाइँदै, पशुपतिलगायतका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल
सेयर गर्नुहोस्
०सेयर

आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ । आज तीजको व्रत बस्नुपर्ने भएकाले व्रतालुहरूले हिजो दर खाएका छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

तीजलाई नेपाली नारीले मौलिक पर्वका रूपमा मनाउने गरेका छन् । हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो ।

पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको गुनासो पनि छ । महिनाैं अघिदेखि दर खाने, गरगहना एवम् पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा स्थापित गर्न खोजेको भन्दै आलोचना हुने गरेको छ । संस्कृतिविद् डा. शोभा ढुङ्गानाका अनुसार पहिला हिन्दू नारीले मात्र तीज मनाउने भए पनि अहिले सबै धर्म, समुदायका महिलाले मनाउने गरेको र मूलतः महिलाको पुनर्मिलनको पर्व हो ।

हरितालिका तीज पर्वको अवसरमा आज पशुपतिनाथलगायतका देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल शुरू भएको छ ।

पशुपतिमा दर्शनार्थीहरूका लागि पशुपति क्षेत्र विकास कोषले चार वटा ठाउँबाट लाइनको व्यवस्था गरेको छ । कोषका अनुसार दर्शनका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।