१५ मंसिर, २०८१
इजरायल – इजरायललाइ आफ्नो कर्मभूमी बनाइ विभिन्न पेशा र क्षेत्रमा रहेका नेपाली किरात याक्थुङ चुम्लुङ समुदायले आफ्नो मौलिक, सांस्कृतिक एंव ऐतिहासिक पर्व “चासोक तङ्नाम ५०८४, न्वागी पुजा उधौली २०८१” भव्य रुपमा माउने तयारी गरेको छ । यस पर्वको अवसरमा शुभकामना आदान – प्रदान, पुजापाठ, आराधाना गरी या : लाङ माङलाङको साथै मौलिक कला, संस्कृति झल्किने विविध सांस्कृतिक प्रस्तुतिहरु रहने छ ।

पूर्वी नेपालको ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, झापा, मोरङ, सुनसरी लगायतका क्षेत्रमा बसोवास गर्ने किरात समुदायले यस पर्वलाइ भव्य रुपमा मनाउने गर्दछन् । हरेक वर्षको मंसिर पूर्णिमाको दिन मनाइने यस पर्वलाइ हिन्दु समुदायले धान्य पूर्णिमा, लिम्बुले चासोक, राइले उद्यौली, किरात याख्याले चासोवा, सुनुवारले फोल स्यादर पर्वको रुपमा मनाउने प्रचलन रहेको छ । यी समुदायले मंसिर पूर्णिमाको दिन नयाँ अन्न बालिहरु आफ्ना पितृ र भगवानलाइ चढाएर पूजापाठ गरी न्वागी पर्व मनाउने गरिन्छ ।

किरात याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा १३ डिसेम्बर, २०२४ शुक्रबारका दिन सांझ इजरायलको आधुनिक शहर तेलअविभ स्थित (Yad Harutsim St. 15 , EVE  Party Palace) मा कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा उपस्थितिको लागि आयोजक संस्थाले इजरायलमा रहनुहुने सबै किरात याक्थुङ चुम्लुङ लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ हार्दिक निमन्त्रणा गरेका छन् ।

सन् २०१३, अप्रिल १३ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलले यस अघिका वर्षहरुमा जस्तै यस वर्ष पनि “चासोक तङ्नाम ५०८४, न्वागी पुजा, उधौली २०८१” पर्व भव्य रुपमा मनाउने तयारी गरेको हो । यसका साथै अन्य आफ्नो मौलिक, ऐतिहासिक र साँस्कृतिक पर्वहरु मनाउदै आएको छ । यस समाजले पनि नेफिन इजरायलमा आवद्ध अन्य जातिय संघ–संस्थाहरुले जस्तै विभिन्न किसिमका सामाजिक, आर्थिक र रचनात्मक कार्यक्रमहरु गर्नुका साथै आफ्ना सामाजिक, आर्थिक, शैक्षिक र राजनैतिक अधिकार प्राप्तिको लागि विभिन्न फोरमहरुमा बहस र पैरवी गर्दै आएको छ ।

आफ्नो ऐतिहासिक भाषा, कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उदेश्य सहित सन् २०१३ मा स्थापित किरात याक्थुङ चुम्लुङ इजरायलको संस्थापक अध्यक्ष प्रताप मादेन हुनुहुन्छ ।

Facebook Comments