२७ बैशाख
इजरायल – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलले आगामी १३ जुनमा संस्थाको १३ औं वार्षिकोत्सव तथा साधारण सभा कार्यक्रम गर्ने भएको छ । “आदिवासी पहिचान अस्तित्व र पुर्ण अधिकार सहितको स्वायत्तता प्राप्ति गर्ने हाम्रो प्रतिबद्वता र निरन्तरता” भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागेको हो ।

इजरायलका लागि नेपाली राजदुत धन प्रसाद पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न हुने यस वार्षिकोत्सव तथा साधारण सभाले आगामी १ वर्षको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गर्नेछ । साथै कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भेषभुषामा आदिवासी पहिचान झल्कने मौलिक कला र नृत्यहरुको प्रस्तुती रहने नेफिन इजरायलका महासचिव खुशी क्ल्हे तमूस्योले जानकारी दिनुभयो । सथै वार्षिकोत्सव तथा साधाराण सभाबाट छलफल र सहमतिको आधारमा आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरिने पनि जानकारी दिनुभयो । यसका साथै नेफिन इजरायलको नेतृत्व चयनको लागि चक्रिय प्रणाली अवलम्बन गरिएको हुँदा वर्तमान नेतृत्व नेवा : खल इजरायलको तर्फबाट मनु श्रेष्ठले गरिरहेको छ । आगामी कार्यकालको नेतृत्व भने नेपाल मगर संघ इजरायलको तर्फबाट गरिनेछ ।

सन् २०१२ मा स्थापना भएको यस संघले आदिवासी जनजातिहरुबीचमा आपसि एकता भेषभूषा, भाषा, लिपि, कला संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि विभिन्न कार्यक्रमहरुको आयोजना र पैरवी गर्दै आएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवा : खल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज सहित आठ वटा जातिय सदस्य संगठनहरु आवद्ध रहेका छन् ।

१३ जुन, २०२५ शुक्रबारका दिन साँझ इजरायल स्थित मातलोन – ७७ तेल अभिवमा कार्यक्रम हुनेछ । कार्यक्रममा उपस्थितिको लागि इजरायलमा स्थापित जातिय, धार्मिक, सामाजिक, राजनैतिक, साहित्यीक संघ – संस्थाहरु, सञ्चारकर्मी तथा बुद्धिजीवी महानुभाव लगायत विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाइ उपस्थितिको लागि नेफिन इजरायलले निमन्त्रणा गरेका छन् ।

Facebook Comments